कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयमा स्मार्ट टेलिभिजन हस्तान्तरण

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिका भित्र रहेका छ वटा सामुदायिक माध्यमिक विद्यालयहरुलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ।
बैंकको गौमुल शाखा मार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रवद्र्धन गर्ने, विद्यार्थीहरूको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने तथा गुणस्तरीय शिक्षाको अवसरलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको बैंकले जनाएको छ।
भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयहरूमा यस सहयोगले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, रोचक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने बैंकको अपेक्षा छ। बैंकले गौमुल गाउँपालिका वडा नं. १ स्थित अम्लिश माध्यमिक विद्यालय, वडा नं. २ स्थित जनज्योति माध्यमिक विद्यालय र फूलपाता माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको छ।
त्यसैगरी वडा नं. ३ स्थित बालविकास माध्यमिक विद्यालय, वडा नं. ५ स्थित मानाकोट माध्यमिक विद्यालय र वडा नं. ६ स्थित किर्तिचौर माध्यमिक विद्यालय यस सहयोगबाट लाभान्वित भएका छन्। कुमारी बैंकले शिक्षा हरेक बालबालिकाको आधारभूत अधिकार भएको विश्वास गर्दै ग्रामीण तथा शहरी क्षेत्रबीच रहेको शैक्षिक अवसर र स्रोत–साधनको असमानतालाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
बैंकले उपलब्ध गराएको स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीहरूलाई डिजिटल सामग्री, श्रव्य–दृश्य माध्यम तथा आधुनिक प्रविधिमा आधारित शिक्षासँग जोड्न सहयोग पुग्ने विश्वास लिएको छ । यसबाट दुर्गम क्षेत्रका विद्यार्थीहरूले पनि शहरी क्षेत्रका विद्यार्थीसरह प्रविधिमैत्री सिकाईको अवसर प्राप्त गरी गुणस्तरीय शिक्षामा समान पहुँच हासिल गर्न सक्ने अपेक्षा गरिएको छ।











