सभामुख अर्याल र भारतीय राजदूतबीच द्विपक्षीय सहकार्य विस्तारबारे छलफल

२५ असार २०८३, बिहीबार १४:२८

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका क्रममा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको महत्त्वपूर्ण लजिस्टिक सहयोगप्रति आभार व्यक्त गरे। उनले नेपाल–भारत सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीलगायतका क्षेत्रमा रहेका विभिन्न द्विपक्षीय संयन्त्रमार्फत सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको बताए।

सभामुख अर्यालले नयाँ प्रतिनिधिसभाको गठनपछि विपिन आचार्यको नेतृत्वमा १० सदस्यीय नेपाल–भारत संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिँदै उक्त समूहले अन्तर–संसदीय सहयोगलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

जवाफमा राजदूत श्रीवास्तवले ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी गराउँदै सभामुख अर्याल तथा नेपाली सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन तथा अवलोकनका लागि भारत भ्रमणको निमन्त्रणा दिएका छन्।

उनले संसदीय कूटनीति र उच्चस्तरीय राजनीतिक संवादले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारका क्षेत्रमा भारत सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*