चीनमा आँधीले बाँध फुटाउँदा भीषण बाढी, कम्तीमा ३९ जनाको मृत्यु
२५ असार २०८३, बिहीबार १४:४४

काठमाडौं । चीनको दक्षिणी क्षेत्रमा ट्रपिकल स्टर्म मेसाक (आँधी) का कारण आएको भीषण बाढीमा परी कम्तीमा ३९ जनाको मृत्यु भएको छ।
लगातारको भारी वर्षापछि जलाशयहरू भरिएर बाँध फुट्दा बाढीको ठूलो भेल बस्ती र सहरमा पसेको थियो। उक्त बाढीमा परी ३९ जनाको ज्यान गएको हो। बाढीका कारण ग्वाङ्सी क्षेत्रबाट करिब एक लाख ३० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ।
उद्धारका लागि ८ हजारभन्दा बढी सुरक्षाकर्मी र करिब ५ हजार ७०० डुंगा परिचालन गरिएको छ। ड्रोनको समेत प्रयोग गरी बाढीमा फसेका नागरिकको उद्धार भइरहेको छ। केही स्थानमा ९०० मिलिमिटरसम्म वर्षा भएको बताइएको छ। अहिले बाढीको पानी विस्तारै घट्दै गए पनि आगामी दुई दिन केही क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान गरिएको छ।











