निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओ पदका लागि आवेदन आह्वान

काठमाडौँ । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ।
अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले शनिबार सूचना प्रकाशित गर्दै प्रचलित कानुनबमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन मागेको हो।
सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र, अर्थात् आगामी साउन १५ गतेभित्र आवेदन दर्ता गरिसक्नुपर्नेछ।
उम्मेदवारले आफ्नो दरखास्त, व्यक्तिगत विवरण (सीभी) तथा आवश्यक शैक्षिक योग्यता र अनुभव खुल्ने कागजातसहित सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयमा कार्यालय समयभित्र आवेदन बुझाउनुपर्नेछ।
सरकारले प्रतिस्पर्धात्मक प्रक्रियामार्फत योग्य व्यक्तिलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने तयारीस्वरूप आवेदन आह्वान गरेको जनाएको छ।











