दिपायल सिलगढी नगरपालिका: एक वर्षमा खाजा–खाना र बैठक भत्तामा ६८ लाख, सवारी मर्मतमा ४५ लाख खर्च

२८ असार २०८३, आईतवार १३:२८

काठमाडौँ ।  डोटीको दिपायल सिलगढी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा विविध खर्च, सवारीसाधन मर्मत, बैठक भत्ता तथा पदाधिकारी सुविधामा ठूलो रकम खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सार्वजनिक खरिद नियमावली, २०६४ ले व्यवस्था गरेका मितव्ययिता, नियमितता, कार्यदक्षता तथा औचित्यका मापदण्डको धज्जी उडाएको पाइएको हो ।

पालिकाले एक वर्षमा खाना, खाजा, सभा सञ्चालन र बैठक भत्ता मार्फत ६८ लाख ५८ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । खाना खाजामा ३८ लाख ४७ हजार र बैठक भत्ता मार्फत ३० लाख ११ हजार रुपैयाँ खर्च गरेको हो ।

प्रतिवेदनअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३ मा प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता र औचित्य कायम राख्न आवश्यक व्यवस्था मिलाउनुपर्ने उल्लेख छ। तर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा खाना, खाजा, सभा सञ्चालन, अतिथि सत्कार तथा अन्य विविध शीर्षकमा ३८ लाख ४७ हजार खर्च गरेको देखिएको छ। महालेखाले विविध खर्चलाई पालिकाको आन्तरिक आयको आकारसँग तादम्यता कायम हुने गरी खर्चको औचित्य पुष्टि हुने निश्चित वस्तुगत मापदण्ड बनाई मितव्ययिता कायम गर्न नगरपालिकाको ध्यानाकर्षण गराएको छ।

प्रतिवेदनमा बैठक भत्तातर्फ पनि नगरपालिकाको खर्च उल्लेख गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३ ले बजेट खर्च गर्दा मितव्ययिता र औचित्य कायम गर्नुपर्ने व्यवस्था गरे पनि नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा पदाधिकारी तथा कर्मचारीको बैठक भत्ता वापत ३० लाख ११ हजार ३४५ खर्च गरेको देखिएको छ। महालेखाले पालिकाको आन्तरिक आयको आकार र कर्मचारी तथा पदाधिकारीलाई उपलब्ध गराइने सुविधाबीच आवश्यक तादम्यता मिलाई चालु खर्चलाई व्यवस्थित र मापदण्डमा आधारित बनाउन सुझाव दिएको छ।

त्यसैगरी सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९६ अनुसार कुनै मालसामान मर्मत गर्नुअघि नियम १३ बमोजिम लागत अनुमान तयार गर्नुपर्ने, प्रतिस्थापित पार्टपुर्जा दाखिला गर्नुपर्ने, नियमावलीअनुसार पार्टपुर्जा खरिद गर्नुपर्ने तथा मर्मत अभिलेख राख्नुपर्ने व्यवस्था रहेको छ। साथै म.ले.प.फा. नं. ४१४ र ४१४(क) बमोजिम मर्मत सम्भार तथा संरक्षण आवेदन फारम र म.ले.प.फा. नं. ४१५ बमोजिम मर्मत सम्भार तथा संरक्षण अभिलेख खाता राख्नुपर्ने व्यवस्था पनि रहेको प्रतिवेदनमा उल्लेख छ।

नगरपालिकाबाट प्राप्त विवरणअनुसार पालिकासँग १९ वटा दुईपाङ्ग्रे सवारी, २ वटा एम्बुलेन्स, २ वटा ब्याकहोलोडर, १ वटा दमकल, २ वटा स्कारपियो/जिप तथा ३ वटा मिनीबस रहेका छन्। ती सवारीसाधनको मर्मतमा ४५ लाख २० हजार ४३३ खर्च गरिएको भए पनि मर्मत आदेश फाराम, मर्मत सम्पन्न फाराम तथा मर्मत अभिलेख खाता तयार नगरी खर्च लेखिएको महालेखाले औंल्याएको छ। मर्मत खर्चलाई मितव्ययी बनाउन तोकिएको ढाँचाअनुसार अभिलेख राखी नियमित रूपमा अध्यावधिक गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ।

यस्तै पदाधिकारी सुविधातर्फ नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा १ करोड २ लाख ३० हजार ७१ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ। सोही अवधिमा नगरपालिकाको आन्तरिक आय भने १ करोड ४५ लाख ३७ हजार २७९ रहेको छ। यस आधारमा पदाधिकारी सुविधामा भएको खर्च आन्तरिक आयको ७०.३७ प्रतिशत बराबर हुन आउने महालेखाले जनाएको छ। प्रतिवेदनले आन्तरिक आयको आकारलाई आधार मानी कर्मचारी तथा पदाधिकारी सुविधामा आवश्यक तादम्यता कायम गर्दै चालु खर्चलाई व्यवस्थित, मितव्ययी र मापदण्डमा आधारित बनाउन दिपायल सिलगढी नगरपालिकाको ध्यानाकर्षण गराएको छ।

उक्त पालिकामा नगरप्रमुख बाजी सि खड्का हुन् भने उपप्रमुख कलावती महर साउद रहेकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*