थन्किएका २५ लाखभन्दा बढी लाइसेन्स छापिए, अब नयाँ सेवाग्राहीले लामो समय कुर्नु नपर्ने

२८ असार २०८३, आईतवार १७:५८

काठमाडौं । लामो समयदेखि छपाइ हुन नसकेर थन्किएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम अन्तिम चरणमा पुगेको छ। सुरक्षण मुद्रण केन्द्रले पुराना मितिका करिब २९ लाख लाइसेन्समध्ये २५ लाख ९२ हजार ४ सय १७ वटा लाइसेन्स छापिसकेको जनाएको छ।

केन्द्रका अनुसार बाँकी ३ लाख ७ हजार ५ सय ८३ वटा लाइसेन्स भने एक वर्षभन्दा कम समयावधिका भएकाले नवीकरणपछि मात्रै छापिनेछन्। यातायात व्यवस्था विभागबाट प्राप्त विवरणअनुसार छाप्न योग्य सबै लाइसेन्सको छपाइ सम्पन्न भइसकेको केन्द्रले जनाएको छ।

पुराना लाइसेन्स छपाइका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच पहिलो चरणमा १२ लाख लाइसेन्स छाप्ने सम्झौता २०८२ कात्तिक १२ गते भएको थियो। सम्झौताअनुसार २०८३ वैशाख १२ भित्र पहिलो चरणको छपाइ सम्पन्न गरी विभागलाई हस्तान्तरण गरिएको थियो।

त्यसपछि २०८३ वैशाख ४ गते दोस्रो चरणमा १७ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार २०८३ असार मसान्तभित्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

विभागका अनुसार पुराना लाइसेन्स छाप्ने काम चलिरहँदा अत्यावश्यक सेवासम्बन्धी छपाइ भने रोकिएको थिएन। पहिलो चरणमा ३७ हजार ६ सय ९८ अत्यावश्यक लाइसेन्स तथा दैनिक राजस्व बुझाएका ३१ हजार २ सय २७ सेवाग्राहीका लाइसेन्स नियमित रूपमा छापिएको थियो।

दोस्रो चरणमा पनि पुराना लाइसेन्ससँगै ४ हजार ८ सय ८१ अत्यावश्यक लाइसेन्स तथा ट्रायल पास गरेका वा नवीकरणपछि राजस्व बुझाएका २ लाख २९ हजार ९ सय १८ वटा नयाँ लाइसेन्स पनि छापिएको विभागले जनाएको छ।

पुराना मितिका लाइसेन्सको छपाइ लगभग सम्पन्न भएसँगै साउन महिनादेखि ट्रायल पास गर्ने तथा नवीकरणपछि राजस्व बुझाउने सेवाग्राहीले लाइसेन्सका लागि लामो समय कुर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ। सुरक्षण मुद्रण केन्द्रका अनुसार आवश्यक प्रक्रिया पूरा गरेका सेवाग्राहीले अब लाइसेन्स छिट्टै प्राप्त गर्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*