बाढीको त्रासले रोकियो १११ मेगावाटको रसुवागढी जलविद्युत्

२९ असार २०८३, सोमबार १०:२७

काठमाडौँ । ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ।

खोलामा बहाव बढ्दै गएपछि आयोजनाको सुरुङतर्फ पानी लैजाने गेट बन्द गरी विद्युत् उत्पादन रोकिएको हो। गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्‍याएपछि मर्मत तथा पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको आयोजनामा फेरि क्षति पुग्न सक्ने जोखिमलाई ध्यानमा राख्दै यो निर्णय गरिएको जनाइएको छ। खोलाको अवस्था सामान्य भएमा विद्युत् उत्पादन पुनः सञ्चालनमा ल्याइने तयारी गरिएको छ।

यसैबीच, ल्हेन्दे खोला र भोटेकोशी नदीमा पानीको बहाव बढ्न थालेपछि रसुवागढी भन्सार यार्डमा रहेका मालवाहक तथा नयाँ आयातित सवारीसाधन सुरक्षित स्थानमा सारिएको छ। भन्सार यार्डको उत्तरी भागबाट बाढी पस्न सक्ने जोखिम रहेको भन्दै यार्डको सुरक्षा सुदृढ गर्न तथा थप तटबन्ध निर्माण गर्न सरोकारवाला निकायसँग माग गरिएको छ।

स्थानीय प्रशासनले ल्हेन्दे खोला र भोटेकोशी नदी आसपास नजान, नदी किनारमा सवारीसाधन नराख्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। आइतबार साँझ आएको हल्का बाढीका कारण मैलुङ सडकबाहेक अन्य स्थानमा उल्लेखनीय क्षति नभएको जनाइएको छ।

मैलुङ सडकखण्ड जोखिममा रहेकाले केरुङ आवतजावत गर्ने सवारीसाधनलाई बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसी हुँदै रसुवागढी पुग्ने वैकल्पिक सडक प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ। यात्रु तथा चालकलाई जोखिमयुक्त सडक प्रयोग नगर्न तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन पनि आग्रह गरिएको छ।

लगातारको वर्षाका कारण नदी तथा खोल्सामा पानीको बहाव बढिरहेकाले नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रमा नबस्न तथा सम्भावित विपद्को अवस्था देखिएमा आपत्कालीन निःशुल्क नम्बर १२३४ मा तत्काल जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*