आधुनिक कतारका योजनाकार शेख हमाद बिन खलिफाको निधन

काठमाडौं । आधुनिक कतारका प्रमुख योजनाकार तथा पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। कतारको शाही दरबार (अमिरी दिवान)ले आइतबार उनको निधनको पुष्टि गरेको हो। निधनको कारण सार्वजनिक गरिएको छैन। कतार सरकारले उनको सम्मानमा राष्ट्रिय शोकको घोषणा गरेको छ।
सन् १९९५ देखि २०१३ सम्म कतारको नेतृत्व गरेका शेख हमादलाई आधुनिक कतारको निर्माता मानिन्छ। उनको नेतृत्वमा प्राकृतिक ग्यास (एलएनजी) उद्योगमा गरिएको विशाल लगानीले कतारलाई विश्वकै धनी राष्ट्रहरूमध्ये एक बनाएको हो। साथै सन् २०२२ को फिफा विश्वकप आयोजना, विशाल पूर्वाधार निर्माण तथा अन्तर्राष्ट्रिय कूटनीतिमा कतारको प्रभाव विस्तारमा उनको निर्णायक भूमिका रहेको थियो।
शेख हमादको शासनकालमै कतारमा तीव्र आर्थिक विकाससँगै सडक, विमानस्थल, बन्दरगाह, स्टेडियम, होटल तथा अन्य पूर्वाधार निर्माणले गति लिएको हो। त्यसका लागि ठूलो संख्यामा विदेशी श्रमिकको आवश्यकता परेपछि नेपालसहित दक्षिण एशियाली मुलुकका नागरिकका लागि रोजगारीका लागि ढोका खुलेको हो। यही अवधिदेखि लाखौं नेपाली वैदेशिक रोजगारीका लागि कतार पुग्न थाले र कतार नेपाली श्रमिकको प्रमुख गन्तव्य राष्ट्रमध्ये एक बन्यो। नेपाली अर्थतन्त्रमा रेमिट्यान्समार्फत कतारको योगदान उल्लेखनीय रहँदै आएको छ।
सन् २०१३ मा उनले स्वेच्छाले सत्ता आफ्ना छोरा तथा वर्तमान अमिर शेख तमिम बिन हमाद अल थानीलाई हस्तान्तरण गरेका थिए। सन् २००६ मा नेपाल र कतारबीच श्रम सम्झौता भएसँगै कतार श्रम सम्झौता गरेर नेपाली श्रमिक लैजाने प्रथम खाडी राष्ट्र बनेको हो। कतारमा कुल जनसंख्याको १२.५ प्रतिशत नेपाली श्रमिक रहेका छन्।











