विभिन्न सञ्चारमाध्यमको कार्यालय गेटमै शंकास्पद गाडी पार्किङ, तत्काल छानबिन गर्न महासंघको माग

काठमाडौं । विभिन्न सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारहरूलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजनको कार्यालय गेटमै सवारी साधन पार्किङ गरी पत्रकारलाई आवतजावत गर्न समस्या सिर्जना गरेको पाइएको महासंघले जनाएको छ।
महासंघले तत्काल गाडीको अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर्दै सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुर्याउने निन्दनीय र रहस्यमय घटना घटेको उल्लेख गर्दै तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानूनी कारवाही गर्न माघ गरेको छ। यस विषयमा सुरक्षा निकायसँग समन्वय भइरहेको पनि महासचिव रामप्रसाद दाहालले जानकारी दिएका छन्।











