शेयर बजारको गिरावटविरुद्ध लगानीकर्ता सडकमा, सेबोन कार्यालय घेराउ

काठमाडौं । शेयर बजारमा निरन्तर गिरावट आएपछि लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड (सेबोन)को केन्द्रीय कार्यालय पुगेका छन्।
शेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान लगानीकर्ताहरू सेबोनको कार्यालय पुगेका हुन्। उनीहरूले बजारमा देखिएको निरन्तर गिरावटप्रति ध्यानाकर्षण गराउँदै पुँजी बजार सुधारका लागि तत्काल नीतिगत हस्तक्षेप गर्न सरकार र नियामक निकायसँग माग गरेका छन्।
लगानीकर्ता कोइरालाले आफूहरू बजार बढाउनुपर्ने माग लिएर मात्र नआएको बताए। उनका अनुसार बजारलाई व्यवस्थित बनाउन आवश्यक नीति, नियम र पूर्वाधार निर्माणमा नियामक निकायले प्रभावकारी भूमिका खेलेको छ वा छैन भन्ने विषयमा ध्यानाकर्षण गराउन कार्यालय पुगेका हुन्।
उनले पुँजी बजारमा ठूलो संख्यामा सर्वसाधारणको लगानी रहेको उल्लेख गर्दै यो क्षेत्र कमजोर बन्दै गए अन्य आर्थिक क्षेत्रसमेत प्रभावित हुने बताए।
लगानीकर्ताहरूले सेबोनको कार्यालय घेराउ गर्दै बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गर्न आवश्यक नीतिगत सुधार तथा प्रभावकारी नियामकीय हस्तक्षेप तत्काल अघि बढाउन माग गरेका छन्।











