हुन्डाई आयोनिक ५ र किया ईभी ६ मा ब्याट्री सर्ट सर्किटको खतरा

३० असार २०८३, मंगलवार १३:४६

काठमाडौँ । हुन्डाई र किया ब्रान्डका सवारी साधनमा आगलागीको जोखिम रहेको खुलेको छ । विद्युतीय सवारीसाधनमा प्रयोग हुने उच्च भोल्टेज ब्याट्रीमा देखिएको गम्भीर गुणस्तरीय त्रुटिका कारण आगलागीको जोखिम बढेपछि दक्षिण कोरियाली सवारी निर्माता हुन्डाई र कियाले आफ्ना केही विद्युतीय गाडी तत्काल फिर्ता बोलाएका हुन्

दैनिक प्रयोगमा रहेका सवारीसाधनका लागि ब्याट्रीमा आगलागी हुनु सबैभन्दा गम्भीर जोखिममध्ये एक मानिने भएकाले प्रभावित गाडीका धनीलाई मर्मत सम्पन्न नहुन्जेलसम्म विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । दुवै कम्पनीले संयुक्त रूपमा १४ वटा विद्युतीय गाडी फिर्ता बोलाएका हुन् । हुन्डाईका ६ वटा र कियाका ८ वटा गाडीमा उच्च भोल्टेज ब्याट्रीभित्र रहेका इलेक्ट्रोडहरू उत्पादनका क्रममा ठीकसँग नमिलेको पाइएको छ । यसले ब्याट्रीभित्र सर्ट सर्किट हुन सक्ने र गाडी चलिरहेको वा पार्किङमा रहेको जुनसुकै अवस्थामा पनि आगलागी हुन सक्ने जोखिम रहेको कम्पनीहरूले चेतावनी दिएका छन् ।

हुन्डाईका सन् २०२३ र २०२४ मोडेल वर्षका ६ वटा आयोनिक–५ यस समस्याबाट प्रभावित भएका छन् । कम्पनीले गाडीधनीलाई मर्मत सम्पन्न नहुन्जेल गाडी घर, ग्यारेज वा अन्य संरचनाबाट टाढा खुला स्थानमा पार्क गर्न, ब्याट्रीको चार्ज ८० प्रतिशतभन्दा माथि नपु¥याउन तथा आवश्यक सावधानी अपनाउन निर्देशन दिएको छ । अधिकृत सेवा केन्द्रमार्फत उच्च भोल्टेज ब्याट्री प्रणाली पूर्ण रूपमा निःशुल्क परिवर्तन गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै, कियाले सन् २०२२ देखि २०२४ मोडेल वर्षसम्मका ७ वटा ईभी–६ र एउटा सन् २०२४ मोडेल वर्षको ईभी–९ गरी कुल ८ वटा गाडी फिर्ता बोलाएको छ । यी गाडीमा पनि उही प्रकारको उत्पादनसम्बन्धी त्रुटि भेटिएको कम्पनीले जनाएको छ । प्रभावित गाडीधनीलाई पनि गाडी खुला स्थानमा पार्क गर्न, अन्य सवारीसाधन तथा भवनबाट टाढा राख्न र ब्याट्रीको चार्ज ८० प्रतिशतभन्दा बढी नगर्न निर्देशन दिइएको छ । अधिकृत सेवा केन्द्रले उच्च भोल्टेज ब्याट्री प्रणाली निःशुल्क परिवर्तन गर्नेछ ।

अमेरिकी राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनमा दर्ता गरिएका विवरणअनुसार उच्च भोल्टेज ब्याट्री उत्पादन गर्ने कम्पनी एसके अन कम्पनीले उत्पादन प्रक्रियामा भएको गुणस्तरीय कमजोरीका कारण ब्याट्रीभित्रका इलेक्ट्रोडहरू ठीकसँग नमिलेको स्वीकार गरेको छ । यही उत्पादन त्रुटिका कारण सामान्य रूपमा गाडी चलाउँदा वा चार्ज गर्दा पनि ब्याट्रीभित्र सर्ट सर्किट हुन सक्ने र त्यसबाट आगलागी हुन सक्ने जोखिम रहेको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*