नेप्से घटिरहँदा धितोपत्र बोर्डले ल्याउँदैछ बजार सुधारको रोडम्याप

३० असार २०८३, मंगलवार १४:०४

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारको विकास तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न आजभोलिमै स्पष्ट कार्ययोजना सार्वजनिक गर्ने भएको छ।

बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले सेयर बजारलाई सकारात्मक दिशा दिने उद्देश्यसहित अधिकतम दुई दिनभित्र कार्ययोजना सार्वजनिक गरिने बताए। उनका अनुसार सम्भव भए मंगलबार नै अन्यथा बुधबारसम्म कार्ययोजना सार्वजनिक हुनेछ।

अध्यक्ष भट्टले आफू लगानीकर्तासँग निरन्तर संवादमा रहेको उल्लेख गर्दै कार्ययोजनामा समयसीमा तोकेर नेप्सेको पुनर्संरचना, बोर्डको संस्थागत सुधार, नयाँ प्रविधिको विकास तथा पूँजी बजारमा कारोबार हुने विविध वित्तीय उपकरणको विस्तारलगायत विषय समेटिने जानकारी दिए।

उनले बोर्डले आगामी एक वर्षभित्र सम्पन्न गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउँदै लगानीकर्तालाई धैर्य रहन आग्रह गरे। बजेटमा समेटिएका पूँजी बजारसम्बन्धी व्यवस्थालाई समेत कार्ययोजनामा समावेश गरिने उनको भनाइ छ।

यसैबीच, बजार लगातार ओरालो लागेपछि लगानीकर्ताको एक समूह मंगलबार नेपाल धितोपत्र बोर्ड पुगेको थियो। तिलक कोइरालाको नेतृत्वमा गएको उक्त समूहले बजारमा लगानीकर्ताको मनोबल बढ्ने गरी ठोस कार्ययोजना ल्याउन बोर्डलाई सुझाव दिएको जनाएको छ।

लगानीकर्तासँग छलफलपछि अध्यक्ष भट्टले आजभोलिमै स्पष्ट कार्ययोजना सार्वजनिक गर्ने प्रतिबद्धता जनाएपछि उनीहरू बोर्डबाट फर्किएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*