लगानीकर्ता सडकमा आउँदा बजारमा सुधारः कारोबार साढे ८ अर्ब, उत्साह कि चलखेल ?

काठमाडौँ । लगातार ओरालो लागेको शेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । एकल अंकले बढेको बजारले केही समयदेखि निराश बनेका लगानीकर्तामा मनोबल बढाउने संकेत दिएको छ । यसैबीच तिलक कोइरालाको नेतृत्वमा रहेका लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड (सेबोन) घेराउ गर्न पुगेका थिए। बोर्डले पूँजी बजारको विकास तथा लगानीकर्ताको विश्वास अभिवृद्धिका लागि आजभोलिमै स्पष्ट कार्ययोजना सार्वजनिक गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन तत्कालका लागि स्थगित गरिएको छ । त्यसको प्रभावस्वरूप बजारमा पनि सामान्य सकारात्मक माहोल देखिएको हो ।
फागुन २१ पछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन हुँदा राजनीतिक स्थायित्वसँगै आर्थिक सुधारले गति लिने अपेक्षा गरिएको थियो ।निजी क्षेत्र र पूँजीबजारले लगानीमैत्री नीति, वित्तीय क्षेत्र सुधार तथा बजारलाई चलायमान बनाउने निर्णय आउने विश्वास गरेका थिए। त्यसपछि आएको आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटप्रति पनि ठूलो अपेक्षा थियो। तर बजेटले पूँजीबजारलाई प्रत्यक्ष राहत दिने वा लगानी विस्तार गर्ने प्रभावकारी कार्यक्रम ल्याउन नसकेको तथा करको दायरा विस्तार गरिएकाले बजारमा निराशा थपिएको विश्लेषण गरिएको छ।
लगानीकर्ताले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीलाई दोस्रो बजारमा प्रवेशको अनुमति, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार, बैंकहरूको शेयर लगानी सीमा पुनरावलोकन तथा बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थागत लगानीकर्तालाई थप सक्रिय बनाउने व्यवस्था आउने अपेक्षा गरेका थिए। लघुवित्त संस्थाको लाभांश वितरण नीतिमा पनि लचकता अपनाइने विश्वास थियो। तर राष्ट्र बैंकले बैंकिङ प्रणाली सुधार, कर्जा विस्तार, तरलता व्यवस्थापन र उत्पादनशील क्षेत्रमा लगानी प्रवाहलाई प्राथमिकता दिँदा पूँजीबजारसँग सम्बन्धित अपेक्षित विषय समेट्न नसकेको भन्दै नीति सार्वजनिक भएलगत्तै लगातार तीन कारोबार दिन बजारमा तीव्र गिरावट आएको थियो ।
यसैबीच सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र कारोबारसँग सम्बन्धित गतिविधिमाथिको अनुसन्धान तीव्र बनाएपछि बजारमा मनोवैज्ञानिक दबाब थपिएको छ। उच्च कारोबार गर्ने केही ब्रोकर कम्पनीमार्फत भएका ठूला कारोबारको प्रकृतिमाथि अध्ययन भइरहेकाले ठूला लगानीकर्ता र कारोबारी समूह सतर्क बनेका छन्। दीर्घकालीन रूपमा नियामकीय निगरानीले बजारलाई थप पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिए पनि तत्कालका लागि यसले नयाँ लगानीको उत्साह घटाएको र कारोबार संकुचित भएको विश्लेषण गरिएको छ ।
विश्लेषकहरूका अनुसार हालको बजार गिरावट कुनै एक कारणको परिणाम नभई बजेट र मौद्रिक नीतिप्रतिको निराशा, नयाँ करसम्बन्धी तयारी, नियामकीय सक्रियता तथा असार मसान्तमा कर, ऋण र अन्य वित्तीय दायित्व भुक्तानीका लागि नगद व्यवस्थापन गर्नुपर्ने मौसमी दबाबको संयुक्त प्रभाव हो । सरकार गठनपछि देखिएको राजनीतिक स्थायित्वको अपेक्षा आर्थिक नीतिमा रूपान्तरण हुन नसक्दा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा गभर्नर विश्व पौडेलप्रति बजारले राखेको अपेक्षा अझै व्यवहारमा देखिन नसकेको टिप्पणी हुन थालेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.११ अकंले बढेर २५७६.२९ बिन्दुमा कायम भएको छ । आज ३८३ कम्पनीको १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १२ उपसूचकमा सुधार देखिएको छ । आज वाणिज्य बैंक समूहको ०.०९ प्रतिशत, विकास बैंक समूहको ०.२९ प्रतिशत, फाइनान्स समूहको ०.५१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

मंगलबार १६४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।











