बढ्दै नेपाली बजारमा महँगी, जेठमा मुद्रास्फीति ५.२२ प्रतिशत

काठमाडौ । २०८३ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार महङ्गी बढ्दै गएको देखिएको हो ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ भनेगैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ०.५४ प्रतिशत र ३.९४ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको औसत मुदास्फीति २.८९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो ।
२०८३ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १७.४० प्रतिशत, घ्यू तथा तेलको १५.१० प्रतिशत, माछा तथा मासुको ५.२६ प्रतिशत र तरकारीको ४.१४ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.९३ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १६.६८ प्रतिशत, यातायातको १५.३१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.२० प्रतिशत, शिक्षाको ५.५४ प्रतिशत र कपडा तथा जुत्ताचप्पलको ५.५३ प्रतिशतलेबढेको छ ।
२०८३ जेठ महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७८ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.३८ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७५ प्रतिशत, मधेश प्रदेशको ५.६२ प्रतिशत, बागमती प्रदेशको ४.७९ प्रतिशत, गण्डकी प्रदेशको ५.०५ प्रतिशत, लुम्बिनी प्रदेशको ५.६२ प्रतिशत, कर्णाली प्रदेशको ४.८९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.६१ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९८ प्रतिशत, तराईको ५.७४ प्रतिशत, पहाडको ५.०७ प्रतिशत र हिमालको ३.७१ प्रतिशत रहेको छ ।











