रास्वपा कार्यकर्ता भए पनि शंकास्पद पार्किङ गर्नेलाई कारबाही हुन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मिडिया र व्यापारिक प्रतिष्ठान अगाडि शंकास्पद ढंगले गाडी पार्किङ गर्ने व्यक्ति रास्वपाकै कार्यकर्ता भए पनि कारबाही गरिने बताएका छन्।
संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले यस्ता घटनाप्रति पार्टीको स्पष्ट धारणा रहेको र गलत काम गर्ने जोसुकैलाई पनि नछोडिने बताए।
‘गलत हो, छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ। पार्टीले गम्भीरतापूर्वक विज्ञप्ति निकालिसकेको छ,’ उनले भने, ‘तत्काललाई के गरियो भन्ने बेग्लै कुरा हो। घटनालाई हेर्ने पार्टीको स्पष्ट दृष्टिकोण छ। यो प्रवृत्ति अस्वाभाविक छ। पार्टी कारबाहीका लागि अडिग छ।’
रास्वपाले यसअघि पनि ७२ घण्टाभित्र आफ्नै सांसदमाथि कारबाही गरेको उदाहरण रहेको उल्लेख गर्दै उनले पार्टीका कार्यकर्ता संलग्न भए पनि अनधिकृत पार्किङ वा यस्तै गतिविधिमा संलग्न व्यक्तिलाई कारबाही गरिने बताए।
यद्यपि, मिडिया कार्यालयअगाडि गाडी तेर्स्याएर पार्किङ गर्ने व्यक्तिलाई पाँच सय रुपैयाँ जरिवाना (चिट) काटेर छाडिएको भन्दै आलोचना भइरहेको छ।











