रवि र बालेनबीच तीन विषयमा केन्द्रित तीन घण्टे छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वालेन्द्र शाह (बालेन)सँग भएको भेटमा मुख्यतः सुकुम्बासी व्यवस्थापन, राष्ट्रिय राजनीतिक अवस्था र पार्टीको आगामी दिशाबारे छलफल भएको बताएका छन्।
मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले दुई दिनअघि आफ्नै निवासमा प्रधानमन्त्रीसँग करिब तीन घण्टा लामो छलफल भएको जानकारी दिए। उनका अनुसार भेटमा सुकुम्बासी व्यवस्थापनलाई प्रभावकारी बनाउने, आम नागरिकले अनावश्यक दुःख नपाउने र व्यवस्थापन प्रक्रियालाई थप व्यवस्थित बनाउने विषयमा विशेष जोड दिइएको थियो।
‘हामीले सम्पूर्ण विषयमा छलफल गर्यौँ । तर विशेषगरी सुकुम्बासी समस्याको समाधानको लागि जे कदम चाल्नुपथ्र्यो त्यसलाई प्रभावकारी बनाउनुपर्यो । आम नागरिकले दुःख पाउनुभएन । व्यवस्थापनको विषयमा बढी चिन्ता गर्नुपर्छ भन्नेबारेमा छलफल गर्याैँ,’ रविले भने, ‘अन्य उठेका सम्पूर्ण विषयमा घनिभूत रूपमा छलफल गर्याैँ । राष्ट्रिय राजनीति, विभिन्न परिस्थिति, भोलिको बाटोको विषयमा दुई शीर्ष नेताबीच छलफल भएको छ । सौहार्द रूपमा राम्रो परिणामुखी छलफल भयो ।’
भेटका क्रममा लामिछानेले सुकुम्बासी व्यवस्थापनमा सरकारको कार्यसम्पादन अपेक्षाअनुसार हुन नसकेको भन्दै कामको गति बढाउनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए। सरकार सञ्चालनका विषयमा पनि छलफल भएको बताइएको छ।
सरकारको कामकारबाहीप्रति पार्टीकै सांसदहरूबाट आलोचना हुन थालेको पृष्ठभूमिमा सभापति लामिछानेले प्रधानमन्त्रीलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन्।











