तीन महिनाभित्र कानुनी सुधार गर्ने सेबोनको घोषणा, आईपीओ–प्रिआईपीओमा कडाइ हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले बोर्डले आगामी तीन महिनाभित्र आवश्यक कानुनी सुधारका कामलाई तीव्रता दिने बताएका छन्। बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित छलफलमा उनले लगानीकर्ताको आत्मविश्वास बढाउने योजनासहित बोर्ड अघि बढिरहेको जानकारी दिए।
उनका अनुसार विगतमा देखिएका कानुनी कमजोरी सुधार गर्दै प्रि–आईपीओ र आईपीओ निष्कासनसँग सम्बन्धित विवाद र प्रश्नलाई अन्त्य गर्ने गरी व्यवस्था गरिनेछ। सुशासन कायम गर्न शून्य सहनशीलताको नीति अपनाइने र बोर्डको जिम्मेवारीभित्र पर्ने सबै कानुनी तथा नीतिगत काम तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए। नेप्से, ब्रोकर तथा अर्थ मन्त्रालयसँग समन्वय आवश्यक पर्ने विषयमा पनि सहकार्य गरिने उनको भनाइ थियो।
अध्यक्ष भट्टले लगानीकर्ता शिक्षा कार्यक्रमलाई देशव्यापी रूपमा विस्तार गरिने बताए। जोखिमयुक्त क्षेत्र भएकाले पर्याप्त ज्ञान र अनुभवसहित लगानी गर्न सक्ने वातावरण बनाउन बोर्डले विविध कार्यक्रम सञ्चालन गर्ने उनले उल्लेख गरे।
बोर्डलाई प्रविधिमैत्री बनाउने योजनाबारे उनले आफ्नै भवन र जग्गा नहुँदा तत्काल ठूलो लगानी गर्न कठिनाइ रहेको बताए। आगामी आर्थिक वर्षभित्र बोर्डको आफ्नै भवन र जग्गाको व्यवस्थापन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।











