सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४२ जना कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले कुल ४२ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको हो।
कम्पनीले मार्केटिङ, दाबी (क्लेम), एक्चुरियल, सूचना प्रविधि (आईटी) र ब्रान्डिङ लगायतका विभागमा कर्मचारी माग गरेको जनाएको छ।
मार्केटिङतर्फ जुनियर असिस्टेन्टदेखि सिनियर असिस्टेन्ट पदमा ३० जना र जुनियर अफिसर पदमा ५ जना माग गरिएको छ। त्यस्तै सिभिल इन्जिनियरिङ (क्लेम) मा ३ जना, मेडी हेल्थ (क्लेम) मा १ जना, एक्चुरियल एनालिस्ट मा १ जना, आईटीमा १ जना र ब्रान्डिङमा १ जना कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ।
अधिकांश पदका लागि स्नातक तह उत्तीर्ण वा सम्बन्धित विषयमा अध्ययनरत उम्मेदवारले आवेदन दिन सक्नेछन्। केही पदमा सम्बन्धित क्षेत्रमा अनुभव आवश्यक रहेको छ भने मार्केटिङ पदका लागि दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनिवार्य गरिएको छ।
इच्छुक उम्मेदवारले २०२६ जुलाई २९ भित्र कम्पनीको अनलाइन आवेदन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। विस्तृत योग्यता, अनुभव र अन्य जानकारी आवेदन पोर्टलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। केवल छनोटमा परेका उम्मेदवारलाई मात्र अन्तर्वार्ताका लागि सम्पर्क गरिने कम्पनीले उल्लेख गरेको छ।












