पुँजी बजारमा छाउँदै हरियालीः अध्यक्ष भट्ट सक्रिय बन्दा लगानीकर्ता उत्साहित, अझै के छन् खतरा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पूँजीबजार सुधारलाई प्राथमिकतामा राख्दै सक्रियता देखाउन थालेपछि केही समयदेखि निराश बनेका लगानीकर्तामा नयाँ आशा जागेको छ । निरन्तर बजार घटेपछि आन्दोलनमा उत्रिएका शेयर लगानीकर्तासँग अध्यक्ष भट्टले मंगलबार लामो छलफल गरेका थिए । छलफलपछि उनले बजार सुधारका लागि स्पष्ट रोडम्याप सार्वजनिक गर्दै सुशासन, कानुनी सुधार र लगानीकर्ता विश्वास पुनःस्थापनालाई केन्द्रमा राखिएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको अर्थसमितिमा पनि उनले बोर्डले आगामी तीन महिनाभित्र आवश्यक कानुनी तथा नीतिगत सुधार पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।उनका अनुसार प्रि–आईपीओ तथा आईपीओ निष्कासनसँग जोडिएका विवाद अन्त्य गर्ने, कानुनी कमजोरी सच्याउने, सुशासनमा शून्य सहनशीलताको नीति लागू गर्ने तथा नेप्से, ब्रोकर र अर्थ मन्त्रालयसँग समन्वय गरी बजार सुधारका कामलाई तीव्रता दिइनेछ ।
फागुन २१ पछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन भएसँगै राजनीतिक स्थायित्व आउने र त्यसले आर्थिक सुधार तथा पूँजीबजारमैत्री नीतिलाई गति दिने अपेक्षा गरिएको थियो । निजी क्षेत्र र लगानीकर्ताले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटबाट लगानी विस्तार, वित्तीय क्षेत्र सुधार तथा बजारलाई चलायमान बनाउने कार्यक्रम आउने विश्वास गरेका थिए । तर बजेटले पूँजीबजारलाई प्रत्यक्ष राहत दिने ठोस कार्यक्रम ल्याउन नसकेको, बरु करको दायरा विस्तार गरिएकाले बजारमा थप निराशा फैलिएको विश्लेषण गरिएको छ ।
लगानीकर्ताले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीलाई दोस्रो बजारमा प्रवेशको अनुमति, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार, बैंकहरूको शेयर लगानी सीमा पुनरावलोकन तथा बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थागत लगानीकर्तालाई थप सक्रिय बनाउने व्यवस्था आउने अपेक्षा गरेका थिए । साथै लघुवित्त संस्थाको लाभांश वितरण नीतिमा पनि लचकता अपनाइने विश्वास थियो। तर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले बैंकिङ प्रणाली सुधार, कर्जा विस्तार, तरलता व्यवस्थापन र उत्पादनशील क्षेत्रमा लगानी प्रवाहलाई प्राथमिकता दिए पनि पूँजीबजारसँग सम्बन्धित अधिकांश अपेक्षा सम्बोधन गर्न नसक्दा नीति सार्वजनिक भएलगत्तै लगातार तीन कारोबार दिन बजारमा तीव्र गिरावट आएको थियो ।
यसबीच सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र कारोबारसँग सम्बन्धित गतिविधिमाथि अनुसन्धान तीव्र बनाएपछि बजारमा मनोवैज्ञानिक दबाब थपिएको छ । उच्च कारोबार गर्ने केही ब्रोकर कम्पनीमार्फत भएका ठूला कारोबारको प्रकृतिमाथि अध्ययन भइरहेकाले ठूला लगानीकर्ता र कारोबारी समूह सतर्क बनेका छन् । दीर्घकालीन रूपमा नियामकीय निगरानीले बजारलाई थप पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिए पनि तत्कालका लागि यसले नयाँ लगानीको उत्साह घटाएको, कारोबार संकुचित भएको र लगानीकर्ताले ‘पर्ख र हेर’ को रणनीति अपनाएको विश्लेषकहरूको भनाइ छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४ अकले घटेर २५९०.२९ बिन्दुमा कायम भएको छ । आज ३६२ कम्पनीको ८४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ४३ लाख ३३ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ उपसूचकमा सुधार देखिएको छ । आज वाणिज्य बैंक समूहको ०.७४ प्रतिशत, विकास बैंक समूहको १.३७ प्रतिशत, फाइनान्स समूहको ०.५० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६१ प्रतिशतले शेयर मूल्य बढेको छ । आज इन्भेष्टमेन्ट समूहको शेयर मूल्य ०.४६ प्रतिशतले घटेको छ भने म्युचुअल फण्ड स्थिर रहेको हो ।
बुधबार १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको घटेको छ । १९ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।












