ईलामका इन्जिनियर ६ लाख घुससहित झापाबाट रंगेहात पक्राउ

काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौं) डिल्ली राज खड्का ६ लाख घुस सहित झापाबाट पक्राउ परेका छन्।
इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनको लागि दुःख हैरानी दिई घुस मागेको भन्दै अख्तियारमा सूचना पुगेको थियो।
उक्त सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट संयुक्त रूपमा खटिई गएको टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।
उनलाई झापाको दमक नगरपालिका वडा नम्बर १ स्थित खाजाघरबाट आज असार ३१ गते बुधबार अख्तियारको टोलीले पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिएर यस घुस काण्डको विस्तृत छानबिन शुरू गरिने अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।











