पर्यटन व्यवसाय बढाउन सरकार तीव्र गतिमा काम गर्दैछः बालेन्द्र शाह

३१ असार २०८३, बुधबार १६:१५

काठमाडौं । बालेन्द्र शाह (बालेन) ले नेपालको पर्यटन क्षेत्रलाई गति दिन सरकारले विभिन्न योजना तीव्र रूपमा अघि बढाइरहेको बताउँदै होटल व्यवसायीलाई ढुक्क भएर लगानी र व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल सङ्घ नेपाल (हान) का पदाधिकारीसँग भएको भेटवार्तामा बालेनले निजी क्षेत्रलाई सरकारको महत्वपूर्ण साझेदारका रूपमा अघि बढाउन चाहेको बताए।

कानुनको पालना गर्दै व्यवसाय सञ्चालन गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गर्न तथा करको दायरामा ल्याउन बालेनले आग्रह गरे। साथै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सहकार्यका सम्भावना पनि खोज्न सुझाव दिए।

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल पनि सहभागी थिए। होटल व्यवसायीहरूले नेपालका होटलहरू वार्षिक करिब ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता भए पनि अहिले वार्षिक करिब १२ लाख पर्यटक मात्र आउने गरेको जानकारी गराए।

पर्यटकको संख्या बढे रोजगारी सिर्जना हुने र युवाको वैदेशिक पलायन घटाउन होटल उद्योगले ठूलो भूमिका खेल्न सक्ने उनीहरूको भनाइ थियो। व्यवसायीहरूले नेपाललाई आरोग्य पर्यटन, विवाह गन्तव्य र सीमापार पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै सरकारसँग केही नीतिगत सुधारको माग पनि राखे।

होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिन र २५ शय्यासम्मका होटलका लागि अनिवार्य गरिएको संक्षिप्त वातावरणीय मूल्याङ्कनको सीमा ५० शय्यासम्म पुर्‍याउन उनीहरूले आग्रह गरे।

त्यसैगरी पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न, नेपाल एयरलाइन्सको सेवा सुधार गर्न तथा वैदेशिक लगानीसँग सम्बन्धित केही कानुनी व्यवस्था संशोधन गर्न पनि व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराए।

विवाह पर्यटनलाई प्रोत्साहन गर्न विदेशी पाहुनाले गरगहना ल्याउने प्रक्रिया सहज बनाउन र आरोग्य पर्यटनको प्रचारप्रसारलाई केवल फोटो वा भिडियोमा सीमित नराखी पूर्ण प्रचार प्याकेजसहित अघि बढाउनुपर्ने सुझाव पनि व्यवसायीहरूले दिएका छन्। छलफलमा होटल सङ्घ नेपालका कार्यवाहक अध्यक्ष दिनेश तुलाधरसहित सङ्घका अन्य पदाधिकारीको सहभागिता रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*