वन्यजन्तु जोखिम बीमालेख साउनदेखि लागू हुने, १५ सय बीमाशुल्कमा १० लाखसम्मको रक्षावरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय, भौतिक तथा कृषि क्षेत्रको क्षतिलाई बीमाको दायरामा ल्याउने उद्देश्यसहित वन्यजन्तु जोखिम केन्द्रित बीमालेख स्वीकृत गरेको छ। उक्त बीमालेख साउन १ गतेदेखि लागू हुनेछ।
वन्यजन्तु प्रभावित क्षेत्रमा हुने जनधनको क्षतिलाई व्यवस्थित रूपमा सम्बोधन गर्न प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र विभिन्न सरोकारवाला निकायले लामो समयदेखि बीमा व्यवस्था गर्न आग्रह गर्दै आएका थिए। सोही मागलाई सम्बोधन गर्दै प्राधिकरणले वन्यजन्तु जोखिमलाई बीमा प्रणालीमा आबद्ध गर्ने निर्णय गरेको जनाएको छ।
बीमालेख तयार गर्ने क्रममा प्रदेश तथा स्थानीय सरकार, राष्ट्रिय निकुञ्ज तथा आरक्षका पदाधिकारी, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, वन उपभोक्ता समिति, वन्यजन्तु विज्ञ तथा प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग छलफल गरी प्राप्त सुझावलाई समेत समेटिएको प्राधिकरणले जनाएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्कअनुसार वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति, घर तथा अन्य भौतिक संरचनामा क्षति, कृषिबाली नष्ट हुनुका साथै पशुधनमा समेत ठूलो नोक्सानी हुने गरेको छ। यस्ता घटनाबाट प्रभावितलाई राहतस्वरूप नेपाल सरकारले प्रत्येक वर्ष १५ करोड रुपैयाँभन्दा बढी वितरण गर्दै आएको छ। पछिल्लो पाँच वर्षमा मात्रै सरकारले करिब ७८ करोड रुपैयाँ राहत उपलब्ध गराएको तथ्याङ्कले देखाउँछ।
नयाँ बीमालेखअन्तर्गत व्यक्तिगत दुर्घटना मृत्यु तथा पूर्ण अशक्तताको अवस्थामा १० लाख रुपैयाँसम्म, अस्थायी पूर्ण अशक्ततामा ५ लाख रुपैयाँसम्म, गम्भीर घाइतेको उपचारमा १ लाख रुपैयाँसम्म र सामान्य घाइतेको उपचारमा २० हजार रुपैयाँसम्म बीमा सुविधा उपलब्ध हुनेछ। यसका लागि वार्षिक १ हजार ५०० रुपैयाँ बीमाशुल्क निर्धारण गरिएको छ। यस्तै वन्यजन्तुको आक्रमणबाट घर तथा अन्य भौतिक संरचनामा भएको क्षतिका लागि ५ लाख रुपैयाँसम्म, कृषि प्रयोजनका पशुधनको क्षतिमा १ लाख रुपैयाँसम्म तथा कृषिबालीको क्षतिमा ५० हजार रुपैयाँसम्म बीमा रक्षावरण हुनेछ।
बीमालेख एक वर्ष अवधिको हुनेछ र बीमा अवधिभित्र सबै प्रकारका जोखिम एकैपटक नघटे पनि बीमाको अवधि कायम रहने व्यवस्था गरिएको छ। घर वा पशुधनको स्वामित्व परिवर्तन भएमा बीमकले निःशुल्क नामसारी गरिदिनुपर्ने, बीमालेख हराए पनि दाबी भुक्तानीमा सहजीकरण गर्नुपर्ने तथा दुर्घटनाबाट मृत्यु भएमा अन्तिम संस्कार तथा काजक्रिया खर्चबापत ५० हजार रुपैयाँ सात दिनभित्र उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।
वन्यजन्तुको आक्रमणबाट हुने क्षतिबारे बीमितले ४८ घण्टाभित्र बीमा कम्पनीलाई जानकारी गराउनुपर्नेछ भने बीमा कम्पनीले सूचना प्राप्त भएपछि तत्काल दाबी प्रक्रिया सुरु गर्नुपर्ने प्रावधान राखिएको छ। यो बीमालेखले हात्ती, गैंडा, बाघ, भालु, चितुवा, स्याल, मृग प्रजाति, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली बँदेल, अर्ना, गोही, गौरीगाई, अजिङ्गर, नीलगाई, बाँदर, दुम्सी र कृष्णसार लगायतका वन्यजन्तुको आक्रमणबाट हुने जोखिमलाई समेट्नेछ। नेपाल बीमा प्राधिकरणका अनुसार इजाजतप्राप्त निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले साउन १ गतेदेखि यो बीमालेख जारी गर्न सक्नेछन्।











