आर्थिक वर्ष २०८२/८३ लाई हरियालीले बिदाई, लगानीकर्ता छन् उत्साहित

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढ्दै आर्थिक वर्षलाई हरियाली संकेतसहित बिदाइ गरेको छ। लगातार तेस्रो कारोबार दिन बजारमा सुधार देखिएसँगै केही समयदेखि निराश बनेका लगानीकर्तामा आशाको सञ्चार भएको छ । यद्यपि बजारमा देखिएको यो सुधार दिगो हुने वा नहुने विषयमा भने लगानीकर्ता अझै प्रतीक्षामै छन्। शुक्रबारदेखि सुरु हुने नयाँ आर्थिक वर्ष २०८३/८४ मा आउने नीतिगत निर्णय र सुधारका कार्यक्रमले बजारको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ ।
बजारमा देखिएको पछिल्लो सुधारमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको सक्रियतालाई प्रमुख कारणका रूपमा हेरिएको छ। निरन्तर बजार घटेपछि आन्दोलनमा उत्रिएका शेयर लगानीकर्तासँग मंगलबार भएको लामो छलफलपछि अध्यक्ष भट्टले पूँजीबजार सुधारका लागि स्पष्ट रोडम्याप सार्वजनिक गरेका थिए। उनले सुशासन, कानुनी सुधार, नियामकीय क्षमता सुदृढीकरण तथा लगानीकर्ताको विश्वास पुनःस्थापनालाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाएका थिए। त्यसयता लगातार तीन कारोबार दिन बजारमा सुधार देखिएकाले लगानीकर्ताले नियामक निकायबाट सकारात्मक सन्देश प्राप्त भएको महसुस गरेका छन्।
यद्यपि बजारमा देखिएको सुधारबीच बिक्री चाप भने कायम छ। आगामी आर्थिक वर्षदेखि लागू हुने पूँजीगत लाभकरसम्बन्धी नयाँ व्यवस्थाका कारण धेरै लगानीकर्ताले यही आर्थिक वर्षभित्रै शेयर बिक्री गर्ने रणनीति अपनाएका छन्। बजेटमार्फत करको दायरा विस्तार गरिएकाले नयाँ आर्थिक वर्षमा थप करको भार पर्ने अनुमान गर्दै कतिपय लगानीकर्ताले नाफा सुरक्षित गर्ने उद्देश्यले शेयर बिक्री गरेका हुन्। विश्लेषकहरूका अनुसार यसले बजारमा खरिद र बिक्री दुवै पक्ष सक्रिय देखिए पनि कारोबारमा मिश्रित मनोविज्ञान कायम रहेको संकेत गरेको छ।
फागुन २१ पछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै राजनीतिक स्थायित्व कायम हुने, अर्थतन्त्रमा सुधार आउने र पूँजीबजारमैत्री नीतिहरू लागू हुने अपेक्षा गरिएको थियो। निजी क्षेत्र र लगानीकर्ताले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटबाट लगानी विस्तार, वित्तीय क्षेत्र सुधार तथा पूँजीबजारलाई प्रत्यक्ष राहत दिने कार्यक्रम आउने विश्वास गरेका थिए। तर बजेटले बजारलाई प्रत्यक्ष रूपमा राहत दिने ठोस कार्यक्रम ल्याउन नसकेको र बरु करको दायरा विस्तार गरिएकाले लगानीकर्तामा केही निराशा थपिएको विश्लेषण गरिएको छ। त्यसैगरी नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले बैंकिङ प्रणाली, कर्जा विस्तार र तरलता व्यवस्थापनलाई प्राथमिकता दिए पनि पूँजीबजारसँग सम्बन्धित अधिकांश अपेक्षा सम्बोधन नगरेपछि नीति सार्वजनिक भएलगत्तै बजारमा तीव्र गिरावट आएको थियो।
यसबीच सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र कारोबारसँग सम्बन्धित गतिविधिमाथिको अनुसन्धान तीव्र बनाएपछि बजारमा मनोवैज्ञानिक दबाब पनि कायम छ। उच्च कारोबार गर्ने केही ब्रोकर कम्पनीमार्फत भएका ठूला कारोबारको प्रकृतिमाथि अध्ययन भइरहेकाले ठूला लगानीकर्ता र कारोबारी समूह सतर्क बनेका छन्। दीर्घकालीन रूपमा नियामकीय निगरानीले बजारलाई थप पारदर्शी, अनुशासित र विश्वसनीय बनाउने अपेक्षा गरिए पनि तत्कालका लागि धेरै लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति अपनाइरहेका छन्। विश्लेषकहरूका अनुसार नयाँ आर्थिक वर्षमा नीतिगत स्पष्टता, सुधारको प्रभावकारी कार्यान्वयन र लगानीकर्ताको विश्वास पुनःस्थापनाले मात्रै बजारमा दिगो सुधारको आधार तयार पार्नेछ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.५० अकंले बढेर २५९७.८० बिन्दुमा कायम भएको छ । आज ३७१ कम्पनीको ९४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ९ उपसूचकमा सुधार देखिएको छ भने ४ उपसूचक घटेको छ । बिहिबार १२१ कम्पनीको शेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।












