घुसकाण्डमा सुनील पौडेल दोषी, ८ वर्ष ६ महिना कैद र करोडौँ जरिवाना

३२ असार २०८३, बिहीबार १६:२४

काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेल र व्यवसायी दीपक आनन्दलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जनही ८ वर्ष कैद र १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।

अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार सजाय निर्धारण गर्दै उक्त फैसला गरेको हो। अदालतले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै तत्कालीन कार्यकारी निर्देशक पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप ६ महिनाको कैद सजाय पनि सुनाएको छ। यससँगै उनले कुल ८ वर्ष ६ महिना कैद भुक्तान गर्नुपर्ने भएको छ।

अदालतले दुवै प्रतिवादीबाट जनही ६ लाख १७ हजार ८ रुपैयाँ असुल गरी ‘अपराध पीडित राहत कोष’मा जम्मा गर्न पनि आदेश दिएको छ।

फैसलाअनुसार पौडेल र आनन्दले तत्कालीन विनिमय दरअनुसार ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँ (अमेरिकी डलर २ लाख ८० हजार) घुस लिन सहमति जनाएको प्रमाण भेटिएको छ। मिसिलमा संलग्न संवादका आधारमा उनीहरूले उक्त रकम माग गरेको पुष्टि भएको अदालतको ठहर छ।

अदालतले घुसका रूपमा सहमति भएको कुल रकमलाई दामासाहीका आधारमा विभाजन गर्दै दुवैलाई जनही १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना तोकेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*