आयल निगमको मनपरी, घट्नुपर्ने पेट्रोलको मूल्य रोकेर उपभोक्तामाथि भार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तामाथि चरम ठगी गरिरहेको पाइएको छ । घट्नु पर्ने पेट्रोलको मूल्यको सूचना नै नदिई निगमले उपभोक्ताको भान्सामा महङ्गीको भारी थपि रहेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य तत्कालै बढ्ने तर मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले समयमै नपाउने गुनासो वर्षौंदेखि दोहोरिँदै आएको छ । यही कारण नेपाल आयल निगमको मूल्य निर्धारण प्रणाली, सरकारको नियमन क्षमता र पारदर्शितामाथि पटक–पटक प्रश्न उठ्ने गरेका छन् । पछिल्लो पटक पनि निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत् राख्ने निर्णय गरेपछि उपभोक्ताको असन्तुष्ट रहेका छन् ।
नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको दाबी गर्दै आएको छ । यो प्रणालीको मूल उद्देश्य अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनलाई निश्चित अवधिको औसतका आधारमा नेपाली बजारमा पनि प्रतिबिम्बित गर्नु हो । सिद्धान्ततः यस्तो प्रणालीले मूल्य बढ्दा पनि घट्दा पनि समान मापदण्ड लागू गर्नुपर्ने हुन्छ । तर व्यवहारमा भने यही विषय विवादको केन्द्र बन्ने गरेको छ । मूल्य बढ्दा स्वचालित प्रणाली तुरुन्तै लागू हुन्छ भने घट्दा त्यही प्रणालीको प्रभाव समान रूपमा देखिँदैन ।
मध्यपूर्वमा युद्ध सुरु हुनुअघि प्रतिब्यारल ७६ अमेरिकी डलरको हाराहारीमा रहेको ब्रेन्ट क्रुडको मूल्य मध्यपूर्वको तनाव उत्कर्षमा पुग्दा कुनै समय ११० डलरभन्दा माथि पुगेको थियो । तर, बीचमा समय युद्धविरामको अवस्था र अवरुद्ध व्यापारिक मार्ग सुचारु भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि भारी गिरावट आएको थियो । तर, फेरी अमेरिका र इरानबिचको युद्धविराम भंग भई सैन्य तनाव उत्कर्षमा पुगेपछि विश्व बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लाग्न थालेको छ ।
विश्वव्यापी कच्चा तेल आपूर्तिमा लामो समयसम्म अवरोध आउन सक्ने डरका कारण तेलको मूल्य प्रतिब्यारेल झन्डै ८५ डलर नजिक पुगेको हो । अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’को मूल्य बढेर प्रतिब्यारेल ८५ डलर नाघेको छ, जुन गत आइतबार ७६.०१ डलर मात्र थियो । यस्तै, अमेरिकी बजारको ‘वेस्ट टेक्सास इन्टरमिडिएट’को मूल्य पनि प्रतिब्यारेल ८० डलरको आसपास पुगेको छ । यस्ता उतारचढाव विश्व बजारको स्वाभाविक विशेषता हुन् । त्यसैले अधिकांश देशहरूले निश्चित अवधिको औसत मूल्यका आधारमा इन्धनको मूल्य समायोजन गर्ने नीति अपनाउने गरेका छन् ताकि एक–दुई दिनको असामान्य उतारचढावले उपभोक्तालाई अनावश्यक भार नपरोस् ।
नेपालले पनि यही अवधारणा अपनाएको छ । तर व्यवहारमा त्यसको कार्यान्वयनमाथि प्रश्न उठिरहेका छन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढी रहेको भएपनि पछिल्लो १५ दिनको औसतलाई तुलना गर्दा नेपालमा पेट्रोलको मूल्य घट्नु पर्ने हो । अन्तर्राष्ट्रिय बजारमा माथिल्लो बिन्दुमा पुगेर गिरावट आइसक्दा समेत नेपाल एक पटक मात्रै समायोजन गरेको छ । वास्तवको अन्तर्राष्ट्रिय बजार आएको गिरावट अनुसार धेरै घट्नु पर्ने थियो । तर, आयल निगमले मूल्य केहि सामान्य मात्रै घटाएको थियो । जुन अन्तर्राष्ट्रिय बजार स्तरमा निकै न्यून हो ।
स्वचालित मूल्य प्रणाली लागू भएको हुँदा १५ दिनको औसतलाई गणना गरेर नेपालमा पेट्रोलेको मूल्य समायोजन हुनुपर्ने हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ मूल्य बढी रहेको कमै दिन मात्रै भएको छ । १५ दिनको औसत गणना गर्ने हो भने नेपालमा मूल्य घट्नु पर्ने हो । भारतले औषत १५ दिनका तुलना मूल्य सूची पठाएपनि आयल निगमले गरी रहेको मनपरीका कारण नेपाली उपभोक्तालाई मार पारिरहेको छ । युद्धले फेरी मूल्य बढ्ने सक्ने भएको हुँदा आयल निगमले अहिले घटेको मूल्यमा समेत नेपाली उपभोक्तलाई सहजीकरण गरेको छैन । जुन उपभोक्तामाथिको चरण ठगी हो ।
निगम सञ्चालक समितिको बुधबारको निर्णयअनुसार १ साउन बिहान १२ः०१ बजेदेखि लागू हुनेगरी साबिककै खुद्रा मूल्य कायम रहने जनाएको छ । यसअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम गरिएको छ। यस्तै डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ निर्धारण गरिएको छ। निगमले विभिन्न स्थानलाई वर्गीकरण गरी सोहीअनुसार मूल्य कायम गरेको जनाएको छ। वास्तवमा उक्त मूल्य घट्नु पर्ने हो ।
निगमले सूचना समेत लुकाउने गरेको छ । भारतबाट कतिले बढेर आएको हो होइन जानकारी नै नदिने नेपाली उपभोक्तालाई भ्रमित बनाउँदै आएको छ । कम्पनीले हिजो जारी गरेको सूचनामा भनिएको छ, ‘बिगत केही महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढावका कारण इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको ।’ तर, निगमले कति बढेर आएको बारे जानकारी नै दिने गरेको छैन । जसले नेपाली उपभोक्तामाथि अपराध गर्दै आइरहेको छ ।
स्वचालित मूल्य प्रणालीको वास्तविक अर्थ राजनीतिक हस्तक्षेपबाट मुक्त, पूर्वनिर्धारित मापदण्डअनुसार मूल्य निर्धारण गर्नु हो । यदि मूल्य बढ्दा तत्काल समायोजन गर्ने तर घट्दा विभिन्न कारण देखाएर पुरानै मूल्य कायम राख्ने अवस्था देखिन्छ भने प्रणालीप्रतिको विश्वास कमजोर हुन्छ । तर, घुस, भ्रष्टाचारको दलदलमा फसेको आयल निगम भने नेपाली उपभोक्ताहरुलाई महङ्गो मूल्यमा तेल बिक्री गर्दै आइरहेको छ ।











