शेयर बेच्दा अब १० प्रतिशतसम्म कर, नयाँ व्यवस्था आजदेखि लागू

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै शेयर कारोबारमा संशोधित पुँजीगत लाभकरको व्यवस्था आजदेखि लागू भएको छ।
सरकारले आर्थिक विधेयक २०८३ मार्फत सूचीकृत कम्पनीका धितोपत्र बिक्रीमा लाग्ने पुँजीगत लाभकरको दर बढाएको हो। नयाँ व्यवस्थाअनुसार एक वर्षभन्दा बढी समय स्वामित्वमा राखिएको शेयर बिक्री गर्दा प्राप्त नाफामा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ भने एक वर्ष नपुग्दै बिक्री गरिएका सेयरबाट प्राप्त लाभमा १० प्रतिशत कर तिर्नुपर्नेछ।
सरकारले धितोपत्र बिक्रीबाट स्रोतमै कट्टा हुने यो करलाई अन्तिम करका रूपमा मान्यता दिएको छ।
यसअघि भने एक वर्षभन्दा बढी अवधिसम्म स्वामित्वमा रहेको शेयर बिक्री गर्दा ५ प्रतिशत र एक वर्षभन्दा कम अवधिमा बिक्री गर्दा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको थियो। नयाँ व्यवस्थासँगै दुवै श्रेणीमा करको दर २.५ प्रतिशत बिन्दुले वृद्धि भएको हो।











