बीमितको साथमा सिद्धार्थ प्रिमियर, १७ हजारभन्दा बढी दाबी फर्छ्यौट गर्दै ५ अर्ब ७८ करोड भुक्तानी

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ मा ५ अर्ब ७८ करोडभन्दा बढी दाबी भुक्तानी गरेको छ।
सो मध्ये भदौको अन्तिम साता जेनजी आन्दोलनको क्रममा देशका विभिन्न भागमा भएका हुलदंगा, तोडफोड तथा आगजनीका कारण राष्ट्रको पूर्वाधार, उद्योग, व्यापार र व्यक्तिगत सम्पत्तिमा भएको क्षतीपूर्ती बापत ३ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको छ।
कम्पनीले यस अवधिमा जेनजी बाहेकको भइपरी आएका अन्य दाबीहरु बापत पनि २ अर्ब ४८ करोडभन्दा बढी भुक्तानी गरेको छ। आर्थिक वर्ष २०८२/०८३ मा कम्पनीमा जम्मा १७ हजार ६६४ वटा दाबी दर्ता भएकोमा १७ हजार ८७६ वटा दाबी फर्छ्यौट गरेको हो।
दाबी भुक्तानीका सन्दर्भमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स संवेदनशील रहेको तथ्य कम्पनीको दाबी फर्छ्यौट तथ्याङ्कबाट प्रष्ट रूपमा देखिने कम्पनीले दाबी गरेको छ।
राष्ट्र र राष्ट्रभरी रहेका उद्योग व्यापार र निजी सम्पत्तिमा भएको क्षति अन्तर्गत आफूसँग बीमित रहेका सम्पत्तिको क्षतीपूर्ति शीघ्र फर्छ्यौट गरी बीमितहरुको संरक्षण गर्न कम्पनी प्रतिबद्ध रहेको तथा सोका लागि भुक्तानी हुन बाँकी दाबीकर्ताहरुलाई यथाशीघ्र आवश्यक कागजात पेश गरी दाबी फर्छ्यौट कार्यमा सहयोग गर्न कम्पनीले अनुरोध गरेको छ।











