बालेनको साथपछि पुँजी बजारमा रौनकः ७९ अकंले बढ्यो परिसूचक, यी कारण देखिनेछ बुल !

१ श्रावण २०८३, शुक्रबार १५:०९

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिनदेखि नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हरियाली छाएको छ । बजारमा देखिएको उत्साहलाई लगानीकर्ताले केवल सिजनल प्रभावका रूपमा मात्र नभई पछिल्ला नीतिगत संकेतसँग पनि जोडेर हेरेका छन् । विशेषगरी बालेन्द्र (बालेन) शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच बिहीबार भएको भेटवार्ताले मौद्रिक नीति थप लचिलो बन्ने अपेक्षा जगाएको छ । यससँगै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजीबजार सुधारका लागि अघि सारेका पहलले समेत लगानीकर्ताको मनोबल उकासेको विश्लेषण गरिएको छ ।

बालेन शाहले गभर्नर पौडेलसँगको भेटमा शेयर बजारका लगानीकर्ताको मनोबल बढाउने गरी मौद्रिक नीतिका सीमाहरू खुकुलो बनाउन, बैंकहरूको ब्याजदर तथा कर्जा सर्तलाई उद्यममैत्री बनाउन आग्रह गरेका थिए । उनले महिला तथा पिछडिएका क्षेत्रका उद्यमीलाई सहुलियतपूर्ण कर्जामा विशेष प्राथमिकता दिनुपर्ने र मौद्रिक उपकरणमार्फत उत्पादन तथा उद्यमशीलतालाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे। जवाफमा गभर्नर डा. पौडेलले राष्ट्र बैंक मौद्रिक नीतिलाई अझ व्यावसायिक, व्यवहारिक र लचिलो बनाउन प्रतिबद्ध रहेको बताउँदै अर्थतन्त्रलाई चलायमान बनाउने साझा लक्ष्यअनुसार सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्मलाई सहज हुने गरी नीतिगत सहजीकरण गरिने आश्वासन दिए।

केही सातायता निरन्तर दबाबमा रहेको पूँजीबजारमा यी अभिव्यक्तिलाई सकारात्मक संकेतका रूपमा लिइएको छ । अन्योलमा रहेका लगानीकर्ताले नीति निर्माताबाट बजारमैत्री सन्देश आउन थालेको महसुस गरेका छन्। त्यसैले नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै बजारमा देखिएको हरियालीलाई केवल प्राविधिक सुधार नभई लगानीकर्ताको मनोविज्ञानमा आएको परिवर्तनको संकेतका रूपमा समेत व्याख्या गर्न थालिएको छ। बजारमा कारोबार रकम र लगानीकर्ताको सक्रियतामा समेत सुधार देखिन थालेको छ।

बजार सुधारको अर्को महत्वपूर्ण आधार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको सक्रियतालाई मानिएको छ। निरन्तर बजार घटेपछि आन्दोलनमा उत्रिएका लगानीकर्तासँग मंगलबार भएको लामो छलफलपछि अध्यक्ष भट्टले पूँजीबजार सुधारका लागि स्पष्ट रोडम्याप सार्वजनिक गरेका थिए । उनले सुशासन, कानुनी सुधार, नियामकीय क्षमता सुदृढीकरण, नयाँ वित्तीय उपकरणको विकास तथा लगानीकर्ताको विश्वास पुनःस्थापनालाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाएका थिए। त्यसयता लगातार तीन कारोबार दिन बजारमा सुधार देखिनुले नियामक निकायप्रति लगानीकर्ताको विश्वास विस्तारै फर्किन थालेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

यसैबीच, नेपाली शेयर बजारमा साउन महिनामा बजार बढ्ने परम्पराले यस वर्ष पनि निरन्तरता पाउने संकेत देखिएको छ । नयाँ आर्थिक वर्षसँगै सरकारी खर्च विस्तार हुने, बैंकिङ प्रणालीमा तरलता सहज रहने, ब्याजदर थप घट्ने अपेक्षा तथा मौद्रिक नीति उदार बन्न सक्ने अनुमानले लगानीकर्ताको आत्मविश्वास बढाएको छ । यद्यपि, बजारको दीर्घकालीन स्थायित्वका लागि घोषणाभन्दा पनि सुधारका कार्यक्रमको प्रभावकारी कार्यान्वयन आवश्यक रहने भन्दै विश्लेषकहरूले नियामक निकाय र सरकारको आगामी कदमलाई नै निर्णायक रूपमा हेरिरहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.७४ अकंले बढेर २६७७.५४ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज म्युचुअल फण्ड समूहको शेयर मुल्य मात्रै घटेको हो ।

शुक्रबार २५९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*