स्वकीय सचिवको पारिश्रमिक वृद्धि र भत्तामा सरकार उदार: अर्थमन्त्री वाग्ले
१ श्रावण २०८३, शुक्रबार १७:१४

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि तथा फिल्ड भ्रमण भत्तालाई समयसापेक्ष बनाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले स्वकीय सचिवहरूको पारिश्रमिक तथा अन्य सुविधाका विषयमा सरकार उदार रहेको बताए।
उनले फिल्ड भ्रमणका क्रममा उपलब्ध गराइने भत्ता तथा अन्य सुविधालाई आवश्यक कानुनी प्रक्रिया र विधि पूरा गरेर समयानुकूल बनाउने विषयमा सरकार नकारात्मक नरहेको स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक ऐनमा प्रस्तावित संशोधनका विषयमा पनि सरकार खुला रहेको उल्लेख गर्दै ती विषयलाई स्वस्थ, तथ्यपरक र विधिसम्मत छलफलमार्फत निष्कर्षमा पुर्याउन सरकार तयार रहेको बताए।











