कामना सेवा विकास बैंकले कमायो ८९ करोड नाफा, लाभांश क्षमता १५ प्रतिशत

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक (साउनदेखि असार मसान्तसम्म) वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति गर्न सफल भएको देखिएको हो।
गत आर्थिक वर्षको १२ महीना (असार मसान्तसम्म) मा कामना सेवा विकास बैंकले ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। अघिल्लो आर्थिक वर्षको १२ महीनामा बैंकले ६७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यसरी एक आर्थिक वर्षमै बैंकको खुद नाफा साढे ३३ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।
त्यसैगरी समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३१ करोड ८५ लाख रुपैयाँबाट बढेर २ अर्ब ४१ करोड ८ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी २ अर्ब ७० करोड १३ लाख रुपैयाँबाट बढेर २ अर्ब ८३ करोड ९५ लाख रुपैयाँ नाघेको छ। यसरी आम्दानीमा उछाल आएपछि बैंकको सञ्चालन मुनाफा पनि १ अर्ब ४ करोड ५ लाख रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ नाघेको छ।
चुक्ता पूँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँबाट बढेर ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ पुगेको बैंकको जगेडा कोषमा ६० करोड ११ लाख रुपैयाँ सञ्चिति रहेको छ भने रिजर्भ कोषमा २ अर्ब १४ करोड १३ लाख रुपैयाँ रहेको छ। बैंकले ५४ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरी ६६ अर्ब १७ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १९.०८ रुपैयाँबाट बढेर २२.७५ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ३.४९ प्रतिशतबाट बढेर ३.७७ प्रतिशत कायम भएको छ। आधार दर (बेस रेट) ७.०७ प्रतिशतबाट घटेर ५.५३ प्रतिशतमा झरेको यस बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ र लाभांश क्षमता १५.१६ प्रतिशत रहको छ। बैंकको प्रतिशेयर नेटवर्थ १७१.०१ रुपैयाँ रहेको छ।











