लेबलविहीन र चोरी पैठारीका जुत्ता–चप्पल बिक्री नगर्न वाणिज्य विभागको चेतावनी

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा फुटवेयर (जुत्ता, चप्पल) को उत्पादन, पैठारी तथा बिक्री–वितरण नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।
विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै बजारमा लेबलविहीन, नक्कली, कम गुणस्तरका तथा चोरी पैठारी गरिएका फुटवेयर भौतिक तथा डिजिटल माध्यमबाट बिक्री–वितरण भइरहेको भन्ने विषयमा विभिन्न माध्यमबाट उजुरी तथा गुनासो प्राप्त भएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ बमोजिम उत्पादकले आफूले उत्पादन गरेका वस्तुमा कानुनले तोकेको विवरणसहितको लेबल अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था छ। त्यस्तै, दफा ८ अनुसार पैठारीकर्ताले वस्तु आयात गर्दा कानुनले तोकेका सबै शर्त पूरा गर्नुपर्ने उल्लेख गरिएको छ।
विभागले ऐनको दफा ११ अनुसार बिक्रेताले कानुनी दायित्व पूरा गर्दै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ।











