फर्स्ट माइक्रोफाइनान्सको नाफामा उछाल, कस्ता छन् अन्य सूचक?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक (असार मसान्तसम्मको) अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सोही वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा नाफ सहितका सूचकहरूमा उछाल देखिएको हो।
अघिल्लो आर्थिक वर्षमा १० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आवमा १९ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यस आधारमा एक आर्थिक वर्षमै कम्पनीको खुद नाफामा ७३.६३ प्रतिशतको उछाल आएको हो। कम्पनीको आम्दानी बढेको र खराब कर्जा घटेका कारण नाफामा वृद्धि आएको हो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २१ करोड १७ लाख रुपैयाँबाट साढे ७ प्रतिशतले बढेर २२ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २१ करोड ६८ लाख रुपैयाँबाट झण्डै ६ प्रतिशतले बढेर २२ करोड ९४ लाख रुपैयाँ नजिक पुगेको छ। योसँगै कम्पनीको सञ्चालन नाफा १५ करोड ७६ लाख रुपैयाँबाट ७३ प्रतिशतले बढेर २७ करोड २७ लाख रुपैयाँ नाघेको छ।
समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ९ करोड ३ लाख रुपैयाँबाट करीब ५१ प्रतिशतले बढेर १३ करोड ६२ लाख रुपैयाँ पुगेको छ। यता प्रतिशेयर आम्दानी (ईपीएस) ८.१७ रुपैयाँबाट बढेर १४.१८ रुपैयाँ पुगेको छ भने खराब कर्जा ३.८४ प्रतिशतबाट घटेर २.८८ प्रतिशतमा झरेको छ। कम्पनीको आधार दर (बेसरेट) ७.५८ प्रतिशतबाट घटेर ६.४८ प्रतिशत कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १३७.२६ रुपैयाँ कायम भएको छ।
चुक्ता पूँजी १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ रहको कम्पनीको जगेडा कोषमा १५ करोड २६ लाख रुपैयाँ र रिजर्भ कोषमा ३४ करोड ८४ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले ४ अर्ब ६५ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरी ३ अर्ब ७६ करोड ४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीले सीमित वित्तीय स्रोत, लघुवित्त सदस्यहरूको व्यवहारमा परिवर्तन, दक्ष जनशक्तिको अपर्याप्तता आदि समस्या भोगिरहेको छ भने ऋणी संस्थाहरूको बढ्दो तरलता, नीति तथा नियममा हुने परिवर्तन, घट्दो ब्याजदर अन्तर, ऋणी संस्थाहरूको निष्क्रिय कर्जा, वित्तीय स्रोतको विविधतामा कमी जस्ता चुनौती विद्यमान रहेको बताएको छ।











