रिद्धिसिद्धि सिमेन्टको बजारमा बलियो पकडः ९ महिनामा ४ अर्बको व्यापार, २४६रुपैयाँमा आईपीओ ल्याउने

३ श्रावण २०८३, आईतवार १२:१७

काठमाडौँ । प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारीमा रहेको रिद्धिसिद्धि सिमेन्टले ९ महिनामा नै झण्डै चार अर्बको व्यापार गरेको छ । शंकर ग्रुप र अम्बे ग्रुपको साझेदारीमा २०१३ मा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले गत आर्थिक वर्ष २०८२।०८३ को ९ महिनामा ३ अर्ब ८९ करोड ३० लाख रुपैयाँको खुद सञ्चालन आम्दानी गरेको हो ।

कम्पनीको सञ्चालन आम्दानीको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ पुगेको कारोबार आर्थिक वर्ष २०७९/८० मा घटेर ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँमा सीमित भएको थियो। त्यसपछि पुनः सुधार हुँदै आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन आम्दानी ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ पुगेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा बढेर ५ अर्ब ९८ करोड १० लाख रुपैयाँ पुगेको छ। पछिल्ला दुई आर्थिक वर्षमा बजार विस्तार गर्दै कारोबारलाई पुनः वृद्धिको मार्गमा ल्याएको देखिन्छ।

कम्पनीले ‘रिद्धिसिद्धि’ र ‘मकवानपुर’ ब्रान्डमार्फत साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपिसी) र पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पिपिसी) उत्पादन तथा बिक्री गर्दै आएको छ। कम्पनीले आफ्नै क्लिङ्कर उत्पादन उद्योग स्थापना गरेर उत्पादन प्रक्रियालाई थप आत्मनिर्भर बनाएको छ। मकवानपुरको हेटौंडास्थित उद्योग नजिकै रहेका आफ्नै चुनढुंगा खानीहरूले उत्पादनका लागि आवश्यक मुख्य कच्चा पदार्थको नियमित आपूर्ति सुनिश्चित गरेका छन्। हाल कम्पनीका केही खानी सञ्चालनमा छन् भने थप खानी विकासको चरणमा रहेकाले आगामी वर्षहरूमा कच्चा पदार्थको उपलब्धता अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

व्यापार बढे पनि सञ्चालन नाफामा भने दबाब परेको छ। आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ४५ करोड १० लाख रुपैयाँ रहेको सञ्चालन नाफा आर्थिक वर्ष २०८१/८२ मा घटेर १ अर्ब २५ करोड रुपैयाँमा सीमित भएको छ। उत्पादनका लागि आवश्यक कच्चा पदार्थको लागत उल्लेखनीय रूपमा बढ्नु तथा बिक्रीसम्बन्धी खर्च वृद्धि हुनु यसको प्रमुख कारण मानिएको छ। सञ्चालन नाफाको अनुपात पनि २४.९६ प्रतिशतबाट घटेर २०.९० प्रतिशतमा झरेको छ। गत आर्थिक वर्षको पहिलो नौ महिनामा यो अनुपात थप घटेर १८.९६ प्रतिशतमा सीमित भएको छ।

यद्यपि सञ्चालन नाफा घटे पनि कम्पनीको खुद नाफामा भने उल्लेखनीय सुधार भएको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ,  जुन अघिल्लो आर्थिक वर्षको ४ करोड १० लाख रुपैयाँको तुलनामा दोब्बर हो। ऋणको ब्याज तथा अन्य वित्तीय खर्च घटेकाले सञ्चालन नाफा कमजोर भए पनि खुद नाफा बढ्न पुगेको कम्पनीको वित्तीय विवरणले देखाएको छ।

ऋण व्यवस्थापनका सूचकहरूमा सुधार देखिएको छ। कम्पनीको ब्याज भुक्तानी क्षमता आर्थिक वर्ष २०७८/७९ मा १.३८ गुणा, २०७९/८० मा ०.८९ गुणा, २०८०/८१ मा १.३१ गुणा, २०८१/८२ मा १.४४ गुणा र गत आर्थिक वर्षको पहिलो नौ महिनामा १.५० गुणासम्म पुगेको छ।

त्यस्तै, चालु अनुपात आर्थिक वर्ष २०७८/७९ मा ०.८० गुणा रहेकोमा २०७९/८० मा १.१३ गुणा, २०८०/८१ मा १.०६ गुणा, २०८१/८२ मा १.२२ गुणा र गत आर्थिक वर्षको पहिलो नौ महिनामा १.१७ गुणा कायम रहेको छ।

कम्पनीको कुल ऋण तथा स्थूल नगद सञ्चित अनुपात आर्थिक वर्ष २०७८/७९ मा ३१.०९ वर्ष रहेकोमा २०७९/८० मा २९.५१ वर्ष, २०८०/८१ मा २४.६२ वर्ष र २०८१/८२ मा २१.६९ वर्षमा झरेको थियो। तर गत आर्थिक वर्षको पहिलो नौ महिनामा यो पुनः बढेर ३५.९४ वर्ष पुगेको छ ।

कम्पनीको कुल ऋण आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब ८१ करोड ५० लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको १० अर्ब ९८ करोड ३० लाख रुपैयाँको तुलनामा लगभग स्थिर छ। आर्थिक वर्ष २०८१/८२ मा थप सेयर पुँजी भित्रिएकाले आफ्नै पुँजी बलियो बनेको र ऋण तथा पुँजीबीचको अनुपातमा सुधार आएको देखिन्छ। यद्यपि चालु आर्थिक वर्षको पहिलो नौ महिनासम्म आइपुग्दा कार्यशील पुँजीका लागि थप ऋण लिइएकाले कुल ऋण बढेर ११ अर्ब २६ करोड ६० लाख रुपैयाँ पुगेको छ। त्यसका बाबजुद कम्पनीको ऋण भुक्तानी क्षमता मध्यम स्तरमा रहेको मूल्याङ्कन गरिएको छ।

कम्पनीले प्रतिकित्ता २४६ रुपैयाँको मूल्यमा १ करोड २१ लाख ७१ हजार कित्ता शेयर निष्कासन गर्ने योजना बनाएको छ । जसका लागि नियामक निकाय बोर्डमा आवेदन दिइसकेको हो ।

रातोमाटे हेटौंडामा रहेको अत्याधुनिक प्रविधियुक्त प्लान्टमार्फत उत्पादन गर्दै आएको कम्पनीले ८४ प्रतिशत क्लिन्कर सिमेन्ट उत्पादन गर्दै आइरहेको छ । रिद्धिसिद्धिले हाल ओर्डिनरी पोर्टल्यान्ड सिमेन्ट र पोर्टल्यान्ड पोज्जोलाना सिमेन्ट उत्पादन गर्दै आएको छ । यी दुवै सिमेन्ट ब्रान्ड ‘रिद्धिसिद्धि’ र ‘मकवानपुर सिमेन्ट’का नाममा नेपाली बजारमा परिचित ब्रान्डको रुपमा स्थापित भइसकेको छ ।

क्लिन्कर उत्पादन क्षमता ८ लाख ४० हजार मेट्रिक टन र सिमेन्ट ग्राइन्डिङ क्षमता ७ लाख ३० हजार मेट्रिक टन रहेको छ (पीएससी सिमेन्टको २ लाख ४० हजार मेट्रिक टन क्षमता बन्द गरिएको छ)। कम्पनीको दर्ता कार्यालय काठमाडौँको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा रहेको छ ।

सन् २०२६ को अप्रिल मध्यसम्म कम्पनीमा सुलभ अग्रवालको ५१.७९ प्रतिशत स्वामित्व रहेको छ।

रिद्धिसिद्धि सिमेन्ट लिमिटेडको कर्जा सक्षमता मूल्याङ्कन पुनः यथावत् राखिएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको जारीकर्ता मूल्याङ्कन ‘आईआरएन त्रिपल बि माइनस (जारीकर्ता)’ पुनः पुष्टि गरेको हो। यस मूल्याङ्कनले कम्पनीलाई आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका हिसाबले मध्यम स्तरको सुरक्षित मानिएको जनाउँछ।

यसैगरी कम्पनीको ८ अर्ब १४ करोड ९१ लाख ८० हजार रुपैयाँ बराबरको दीर्घकालीन बैंकिङ सुविधा ‘आईआरएन त्रिपल बि  माइनस’ र ४ अर्ब ६ करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको अल्पकालीन बैंकिङ सुविधा ‘आईआरएन ए–थ्री’ मूल्याङ्कन पनि यथावत् राखिएको छ। यसअघि दीर्घकालीन सुविधा ८ अर्ब २७ करोड ५९ लाख २० हजार रुपैयाँ र अल्पकालीन सुविधा ३ अर्ब ६६ करोड १५ लाख ९० हजार रुपैयाँ रहेकोमा यसपटक दीर्घकालीन सुविधा घटाइएको र अल्पकालीन सुविधा बढाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*