वर्षाले देशभरका राजमार्ग प्रभावितः नौ सडक पूर्ण अवरुद्ध, २१ जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक

३ श्रावण २०८३, आईतवार १२:०६

काठमाडौं । देशभर लगातार भइरहेको वर्षासँगै पहिरो, लेदो, ढुंगा खस्ने तथा बाढीको जोखिम बढेपछि विभिन्न राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। प्रहरीका अनुसार आज साउन ३ गते बिहान १०ः४० बजेसम्म देशका विभिन्न स्थानमा कम्तीमा नौ प्रमुख सडक तथा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने कोशी, बागमती र गण्डकी प्रदेशका धेरै जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।

सबैभन्दा बढी प्रभाव पहाडी तथा हिमाली जिल्लाका सडकमा परेको छ। इलामको इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा वर्षाका कारण सडक हिलो बनेपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न सकिने व्यवस्था रहेको जनाइएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नम्बर २ कोदारी क्षेत्रमा पहिरो, ढुंगा, माटो तथा लेदो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

यस्तै अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलामा माथिबाट ठूलो ढुङ्गा खसेपछि सालझण्डी–ढोरपाटन सडकखण्ड अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ भने ललितपुरको बाग्मती गाउँपालिका–३ पाङदुर क्षेत्रमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–१ गुम्चेत क्षेत्रमा लेदो र माटोसहितको पहिरो आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक सञ्चालन हुन सकेको छैन। रोल्पाको माडी गाउँपालिका–६ हार्निङ क्षेत्रमा लेदोयुक्त पहिरो खसेपछि रुकुम–घोराही शहीद मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

यसैबीच वर्षायाममा हुन सक्ने सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक र सिन्धुली हुँदै सञ्चालन हुने वि.पी. राजमार्गमा अर्को सूचना जारी नभएसम्म विशेष समय तालिका लागू गरिएको छ। उक्त सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सवारी सञ्चालन गर्न दिइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक कायम छ।

यसैगरी विपद् जोखिम न्यूनीकरणलाई ध्यानमा राख्दै कोशी प्रदेशका इलाम, तेह्रथुम, संखुवासभा, भोजपुर, धनकुटा, पाँचथर, खोटाङ र सोलुखुम्बुमा रात्रिकालीन सवारी सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। इलाम, तेह्रथुम, धनकुटा, पाँचथर र खोटाङमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा संखुवासभा र भोजपुरमा साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सबै सडकमा सवारी सञ्चालन रोकिएको छ। सोलुखुम्बुमा भने सिद्धिचरण राजमार्ग हुँदै ओखलढुंगातर्फ जाने सवारी साधनमा यही समयावधिका लागि रोक लगाइएको छ।

बागमती प्रदेशमा पनि काभ्रे, सिन्धुली, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर र चितवनका विभिन्न सडकमा रातिको समयमा सवारी सञ्चालन रोकिएको छ। विशेषगरी नारायणगढ–मुग्लिङ–काठमाडौं सडकखण्डमा राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म रात्रिकालीन सवारी सञ्चालन पूर्ण रूपमा बन्द गरिएको छ।

उता गण्डकी प्रदेशका कास्की, गोरखा, स्याङ्जा, लमजुङ, बागलुङ र म्याग्दीबाट छुट्ने लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारी साधन पनि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न रोक लगाइएको छ। अन्य जिल्लाबाट समेत रातिको समयमा लामो दूरीका सार्वजनिक सवारी नछोड्न निर्देशन दिइएको छ।

प्रहरीले वर्षा अझै जारी रहेकाले पहिरो, बाढी र सडक अवरोधको जोखिम उच्च रहेको जनाएको छ। अत्यावश्यक बाहेक यात्रा नगर्न, यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा सुरक्षा निकायले जारी गरेका सूचना र निर्देशनको पूर्ण पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*