वैदेशिक रोजगारीमा गिरावट: गत वर्ष ७ लाख ९२ हजार नेपाली मात्रै विदेशिए

३ श्रावण २०८३, आईतवार १२:५४

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार समीक्षा अवधिमा श्रम स्वीकृति लिएर ७ लाख ९२ हजार १८७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या आर्थिक वर्ष २०८१–८२ को तुलनामा ४७ हजार ७९ जनाले कम हो।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए।

गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेमध्ये ६ लाख ९७ हजार ९६ जना पुरुष र ९५ हजार ९१ जना महिला रहेका छन्। म्यानपावर कम्पनीमार्फत २ लाख ६८ हजार ९९० जना विदेशिएका छन् भने १ लाख २८ हजार ५२० जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। त्यस्तै, सरकार–सरकार (जी–टु–जी) प्रणालीमार्फत ८ हजार १९७ जना वैदेशिक रोजगारीमा गएका विभागको तथ्यांकमा उल्लेख छ।

पुनः श्रम स्वीकृतिसहित वैदेशिक रोजगारीमा जाने नेपालीको गन्तव्यमा संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो स्थानमा रहेको छ। गत आर्थिक वर्ष यूएईमा १ लाख ८३ हजार ५८० जना पुगेका छन्। त्यसपछि मलेसियामा १ लाख २८ हजार ७५३, साउदी अरेबियामा १ लाख २३ हजार ७१९, कतारमा १ लाख २१ हजार २३०, कुवेतमा ४३ हजार ३६०, रोमानियामा ३३ हजार ३६० र जापानमा २२ हजार २६६ जना नेपाली पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*