काठमाडौँको टेकुमा चल्यो गोली
३ श्रावण २०८३, आईतवार १६:३२

काठमाडौं । राजधानीको टेकु क्षेत्रमा आइतबार दिउँसो लागुऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन्।
प्रहरीका अनुसार लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरोको टोली टेकुस्थित काठमाडौं महानगरपालिकाको फोहरमैला संकलन केन्द्र नजिक पुगेको थियो। त्यसक्रममा प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएपछि अवस्था नियन्त्रणमा लिन गोली चलाइएको जनाइएको छ।
गोली लागेर घाइते भएका भारतीय नागरिकलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट घाइतेसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।











