बागमतीमा ‘हेलो सीएम’ कक्ष स्थापना गरिने, सात दिनभित्र गुनासो सम्बोधन गर्ने तयारी

३ श्रावण २०८३, आईतवार १६:३४

काठमाडौं । बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी र समस्या छिटो सुन्न तथा समाधान गर्न ‘हेलो सीएम’ कक्ष स्थापना गर्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अत्याधुनिक प्रविधिसहित सञ्चालन हुने यो कक्षमार्फत प्राप्त गुनासा सात दिनभित्र सम्बोधन गर्ने लक्ष्य राखिएको छ।

यसका लागि आवश्यक बजेटको व्यवस्था पनि गरिएको छ। प्रदेशवासीले भोगिरहेका समस्या सहज रूपमा सरकारसम्म पुग्ने र समयमै समाधान खोज्ने उद्देश्यले यो व्यवस्था गर्न लागिएको हो। त्यसैगरी प्रदेश सरकारले सञ्चालन गरिरहेका सबै विकास आयोजनाको भौतिक तथा वित्तीय प्रगति अनलाइन प्रणालीबाट नियमित अनुगमन गर्न ‘प्रोजेक्ट मनिटरिङ सिस्टम’ पनि विकास गरिने भएको छ।

प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई दिइने सबै तालिमलाई एकीकृत प्रणालीबाट सञ्चालन गर्न प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र स्थापना गर्ने तयारीसमेत गरिएको छ। सरकारले आर्थिक वर्ष २०८३/८४ लाई कानुन तर्जुमा वर्षका रूपमा मनाउने घोषणा गर्दै अझै निर्माण हुन बाँकी रहेका आवश्यक कानुनलाई प्राथमिकताका साथ तयार पार्ने जनाएको छ। साथै प्रदेश सरकारले बनाएका नीति र कानुनको कार्यान्वयन अवस्था अध्ययन तथा मूल्याङ्कन गर्न पनि बजेट छुट्याइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*