बडीकेदार गाउँपालिका: एक वर्षमा सवारी मर्मतमा ४४ लाख खर्च, खाजा र सभा सञ्चालनमा २० लाख स्वाहा

३ श्रावण २०८३, आईतवार १७:४९

काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा सवारी साधन मर्मत तथा विविध शीर्षकमा सार्वजनिक खरिद नियमावली र मितव्ययितासम्बन्धी व्यवस्थाको पूर्ण पालना नगरी खर्च गरेको पाइएको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार गाउँपालिकाले सवारी साधन मर्मत गराउँदा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९६ मा भएको व्यवस्था पालना नगरी सोझै खरिदमार्फत ४४ लाख ३५ हजार ४१४ रुपैयाँ खर्च गरेको हो ।

नियमावलीअनुसार सार्वजनिक निकायसँग आफ्नै मर्मत केन्द्र वा वर्कसप भए त्यहीँबाट मर्मत गर्नुपर्ने र त्यस्तो व्यवस्था नभए लागत अनुमान तयार गरी प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएर मर्मत सेवा खरिद गर्नुपर्ने व्यवस्था छ। तर गाउँपालिकाले आफ्नै मर्मत केन्द्र नभएको अवस्थामा पनि लागत अनुमान स्वीकृत नगरी तथा खुला प्रतिस्पर्धात्मक प्रक्रिया अवलम्बन नगरी एक चारपाङ्ग्रे सवारी, एक ब्याकहो लोडर, एक एक्स्काभेटर, दुई एम्बुलेन्स, एक ट्र्याक्टर र १८ वटा मोटरसाइकल मर्मतका लागि सोझै खरिद प्रक्रिया अपनाएको प्रतिवेदनमा उल्लेख छ।

महालेखा परीक्षकले खरिद प्रक्रियामा प्रतिस्पर्धा कायम हुने गरी मितव्ययी ढंगले मर्मत सेवा खरिद गर्न गाउँपालिकालाई सुझाव दिएको छ।

यस्तै, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यका आधारमा खर्च गर्नुपर्ने व्यवस्था भए पनि गाउँपालिकाले विविध तथा सभा सञ्चालन शीर्षकमा उल्लेख्य रकम खर्च गरेको पाइएको छ।

प्रतिवेदनअनुसार गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा खाजा, खाना, अतिथि सत्कार तथा सभा सञ्चालनलगायतका विविध खर्च शीर्षकमा १९ लाख ९९ हजार ८०८ रुपैयाँ खर्च गरेको छ। यो रकम गाउँपालिकाको सोही वर्षको १ करोड ५० लाख ९० हजार २२ रुपैयाँ २६ पैसाको आन्तरिक आयको करिब ३१.४८ प्रतिशत बराबर हो।

महालेखा परीक्षकले यस्ता खर्च गर्दा पालिकाको आन्तरिक आयको अवस्था समेत ध्यानमा राखी मितव्ययी रूपमा खर्च गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ।

पालिकाको अध्यक्ष भैरव बहादुर साउद हुन् भने उपाध्यक्षको जिम्मेवारीमा डम्मरी बिष्ट कलेल छिन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*