असोज मसान्तभित्र सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्न सरकारको आग्रह

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै योग्य लाभग्राहीलाई असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न आग्रह गरेको छ।
मन्त्रालयले स्थानीय तहहरूलाई पठाएको परिपत्रअनुसार सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम ९ बमोजिम सबै लाभग्राहीले अनिवार्य रूपमा परिचयपत्र नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको हो।
परिपत्रमा लाभग्राहीले आफ्नै वडा कार्यालय वा बायोमेट्रिक विवरण दर्ता गरिसकेको अवस्थामा अस्थायी बसोबास रहेको वडा कार्यालयमा समेत स्वयम् उपस्थित भई राष्ट्रिय परिचय नम्बरका आधारमा औँठाछाप वा आइरिस (आँखाको नानी) मार्फत जैविक पहिचान गराई नवीकरण गर्नुपर्ने उल्लेख छ। यसरी नवीकरण गरेपछि २०८४ असार मसान्तसम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले नवीकरणको अन्तिम समय असोज मसान्त भएकाले वडा कार्यालयमा अनावश्यक भिडभाड हुन नदिन स्थानीय तहलाई समयमै आवश्यक सहजीकरण र व्यवस्थापन गर्न निर्देशन दिएको छ।
यद्यपि सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ अनुसार १६ वर्ष उमेर पूरा नभएका बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त व्यक्ति तथा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लाभग्राहीका रूपमा सूचीकृत हुन राष्ट्रिय परिचय नम्बर अनिवार्य नहुने व्यवस्था यथावत् रहेको मन्त्रालयले स्पष्ट पारेको छ।











