खाद्य विभागको आकस्मिक अनुगमन : एक उद्योगको उत्पादन बन्द, तीन उद्योगबाट नमुना संकलन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोका आधारमा ललितपुरका तीन खाद्य उद्योगमा आकस्मिक अनुगमन गरेको छ। अनुगमनका क्रममा एक उद्योगलाई सुधारात्मक उपाय पूरा नगरेसम्म उत्पादन नगर्न निर्देशन दिइएको विभागले जनाएको छ।
विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनअन्तर्गत ललितपुर महानगरपालिका–२६ स्थित गुड लाइफ फुड प्रोडक्टमा कुकिज तथा बिस्कुटको गुणस्तर सम्बन्धी उजुरीपछि निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा कीट नियन्त्रण, एक्जस्ट प्रणाली, झ्याल–ढोकामा जालीको अभाव, उत्पादन कक्षको सरसफाइ तथा कर्मचारीको व्यक्तिगत सरसफाइमा कमजोरी भेटिएपछि ती सबै कैफियत सुधार नगरेसम्म उत्पादन नगर्न निर्देशन दिइएको विभागले जनाएको छ। उद्योगलाई सात दिनभित्र सुधारको प्रमाणसहित विभागमा उपस्थित हुन पनि भनिएको छ। साथै, बिस्कुट र कुकिजको नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको छ।
यस्तै, गोदावरी–१४ स्थित नाग्लो बेकरीज प्रालिमा ‘स्पेसल नाग्लो पफ’मा प्रयोग हुने चिल्लो पदार्थको गुणस्तरबारे परेको उजुरीका आधारमा गरिएको अनुगमनमा प्रयोग गरिएको तेल तथा वनस्पति घिउ नेपाल सरकारले तोकेको मापदण्डभित्र रहेको पाइएको विभागले जनाएको छ। उद्योगको सरसफाइ, कीट नियन्त्रण तथा भण्डारण अवस्था सन्तोषजनक देखिए पनि थप परीक्षणका लागि पफको नमुना संकलन गरिएको छ।
त्यसैगरी, गोदावरी–१ स्थित दक्षिणकाली दालमोठ उद्योगमा उत्पादन हुने ‘केटीएम ब्रान्ड’ दालमोठमा बाह्य पदार्थ भेटिएको भन्ने उजुरीपछि गरिएको निरीक्षणमा उद्योगको सरसफाइ र कीट नियन्त्रणको अवस्था सन्तोषजनक पाइएको विभागले जनाएको छ। यद्यपि, दालमोठको नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको छ। साथै, एक्जस्ट प्रणाली थप प्रभावकारी बनाउन, झ्याल–ढोकामा जाली जडान गर्न र खाद्य स्वच्छताको मापदण्ड पूर्ण रूपमा पालना गर्न उद्योगलाई निर्देशन दिइएको छ।
विभागले अनुगमन गरिएका तीनवटै उद्योगबाट संकलित नमुनाको प्रयोगशाला परीक्षण प्रक्रिया अघि बढाइसकेको जनाएको छ। परीक्षण प्रतिवेदन प्राप्त भएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने विभागको भनाइ छ।











