कामना सेवा विकास बैंकद्वारा नेपालपे कार्ड सेवा शुरु, अन्तर्राष्ट्रिय डिस्कभर कार्ड पनि प्रयोग गर्न मिल्ने

४ श्रावण २०८३, सोमबार १४:१०

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यसहित नेपालपे कार्डको इस्युइङ र अक्वायरिङ सेवा शुरु गरेको छ। यससँगै बैंकका ग्राहकले नेपालपे कार्ड प्राप्त गर्न सक्ने भएका छन् भने बैंकका देशभर रहेका एटीएमबाट नेपालपे कार्डका साथै डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डमार्फत पनि कारोबार गर्न सक्ने भएका छन्।

बैंकले अन्य कार्ड स्किमसँगै नेसनल पेमेन्ट स्विचअन्तर्गत सञ्चालनमा रहेको नेसनल कार्ड स्किम–नेपालपे कार्ड पनि उपलब्ध गराउने जनाएको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले हालै नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरेसँगै अन्तर्राष्ट्रिय डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालपे कार्ड अब विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ।

बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्ड नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ। साथै रुपे कार्डसहित डिस्कभर नेटवर्कअन्तर्गतका अन्य अन्तर्राष्ट्रिय कार्डहरू पनि नेपालमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

हालसम्म नेपालपे प्रणालीमा ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन्। त्यसमध्ये ७ वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड इस्युइङ सेवा सुरु गरिसकेका छन् भने १० भन्दा बढी संस्थाले अक्वायरिङ सेवा सञ्चालनमा ल्याइसकेका छन्। यो संख्या क्रमशः बढ्दै गएको एनसीएचएलले जनाएको छ।

कामना सेवा विकास बैंकले हाल देशभर करिब ८ लाख ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकका १२२ शाखा, एक एक्सटेन्सन काउन्टर र ६६ एटीएम सञ्चालनमा छन्। पछिल्लो समय बैंकले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै आन्तरिक प्रणाली तथा ग्राहक सेवामा सुधार गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि डिजिटल सेवाको पहुँच र गुणस्तर थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*