बालेनसँग भेटेपछि लगानीकर्ता उत्साहित, ‘पूँजीबजार अर्थतन्त्रको मुख्य आधार हो’

काठमाडौं । बालेन्द्र शाह (बालेन) ले पूँजी बजार र धितोपत्र लगानीसँग सम्बन्धित प्रमुख सरोकारवालासँग आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटघाट गरेका छन्।
मध्यान्ह १२ बजे भएको भेटघाटमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष, लगानीकर्ता, ब्रोकर, बीमा कम्पनी तथा अन्य सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
छलफलपछि लगानीकर्ता एवं व्यवसायी अम्बिका प्रसाद पौडेलले मुख्य गरी पूँजी बजारमा गर्नुपर्ने सुधारका विषयमा केन्द्रित रहेर छलफल गरिएको बताए। पूँजी बजारको विकासका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेप्सेले गर्नुपर्ने कामहरूका साथै कर तथा नीतिगत व्यवस्थाको बारेमा अर्थमन्त्रालयसँग पनि छलफल भएको जानकारी दिए।
छलफलमा बालेन्द्र शाह (बालेन) ले पूँजी बजारको विकास र लगानीकर्ताको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बालेनले पूँजी बजार पूँजी परिचालन गर्ने क्षेत्र भएकाले रोजगारी पनि सिर्जना हुनुपर्ने र पूँजीबजार चलायमान हुँदै गर्दा अर्थतन्त्रका अन्य क्षेत्रहरू पनि चलायमान हुनुपर्नेमा जोड दिएका छन्।
पूँजी बजारमा राम्रोसँग काम गर्ने लगानीकर्ताको कसरी मनोबल बढाउने र रोजगारी कसरी सिर्जना गर्ने भन्ने विषयमा छलफल भएको पौडेलले जानकारी दिए। “छलफलमा तीनवटा सेक्टरबाट सुझाव प्रस्तुत गर्यौं, एउटा लगानीकर्ताको तर्फबाट, नेप्सेको तर्फबाट र धितोपत्र बोर्डको तर्फबाट सुझाव प्रस्तुत भएको थियो।” पौडेलले भने।
बालेन शाह पूँजी बजार चलायमान हुनुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने र राजस्व बढ्नुपर्नेमा विश्वस्त रहेको पाइएको भन्दै वर्तमान सरकारले पूँजी बजारको विकासका लागि छिटोभन्दा छिटो काम गर्नेमा आफूहरू विश्वस्त रहेको उनले बताए।











