बाजुरामा जिप दुर्घटना, चालकसहित ९ जना घाइते

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–५ स्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।
सोमबार दिउँसो करिब १ः२५ बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालक हिमाली गाउँपालिका–२ नातीखोला निवासी २५ वर्षीय जनवीर बुढासहित धर्मलाल बुढा, मिजरा बुढा, हुम्लाको ताजाकोट गाउँपालिका–५ निवासी अम्मर सिंह बुढा, अस्मिता थापा, जंग सिंह बुढा, गोरख रोकाया, लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको छ। सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











