सक्कली बिल लिने बानी बसाल्दै सरकारः हरेक दिन एक नेपाली लखपति बनाइने, महिनामा दुई जनालाई १०–१० लाख

काठमाडौं । सरकारले कर प्रणालीलाई थप प्रभावकारी बनाउने र उपभोक्तालाई सक्कली बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले नयाँ लखपति योजना सञ्चालनमा ल्याउने भएको छ।
बजेटमार्फत घोषणा गरिएको यस कार्यक्रमअन्तर्गत अब हरेक दिन एक जना नेपाली लखपति बन्ने अवसर पाउनेछन् भने महिनामा दुई जनाले १०–१० लाख रुपैयाँको बम्पर पुरस्कार जित्ने व्यवस्था गरिएको छ।
योजनाअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा आबद्ध व्यवसायबाट १०० रुपैयाँभन्दा बढीको सामान खरिद वा सेवा उपभोग गर्दा सक्कली बिल लिने उपभोक्ता योजनामा सहभागी हुन सक्नेछन्। नगद वा अनलाइन माध्यमबाट गरिएको भुक्तानीपछि प्राप्त हुने सक्कली बिलको नम्बर नै पुरस्कार छनोटको आधार बन्नेछ।
सरकारले होटल, रेस्टुरेन्ट, पसललगायत सबै करदाताबाट खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल लिन सर्वसाधारणलाई आग्रह गरेको छ। यसले कर छलि नियन्त्रण हुनुका साथै कर प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
हालका लागि हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन अर्थात् पाक्षिक रूपमा लखपति योजनाको नतिजा सार्वजनिक गरिने जनाइएको छ। सरकारले बजेटमा घोषणा गरेको यस योजनाको कार्यान्वयनका लागि आवश्यक कार्यविधिसमेत सार्वजनिक गरिसकेको छ। कार्यविधिअनुसार योग्य बिल नम्बरका आधारमा दैनिक लखपति तथा मासिक बम्पर विजेताको छनोट गरिने व्यवस्था रहेको छ।











