प्रोटोनको नयाँ ईभी ‘इमास ५’ नेपालमा, मूल्य ३२ लाख ९९ हजार

काठमाडौं । नेपाली बजारमा मलेसियन अटोमोबाइल ब्रान्ड प्रोटोनको नयाँ विद्युतीय ह्याचब्याक इमास ५ आधिकारिक रूपमा सार्वजनिक भएको छ। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमबारदेखि यसको बिक्री सुरु गरेको हो।
कम्पनीले इमास ५ लाई प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ। प्राइम भेरियन्टको नियमित मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर सुरुआती १०० ग्राहकले यो भेरियन्ट २९ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्। त्यसैगरी प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ भने पहिलो १०० ग्राहकका लागि ३४ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य निर्धारण गरिएको छ।
प्रोटोनले चिनियाँ अटो निर्माता जिलीले उत्पादन गरेको ‘जिङयुआन’ मोडललाई आफ्नै ब्रान्डिङसहित इमास ५ नाममा बजारमा ल्याएको हो।
प्राइम भेरियन्टमा ५८ किलोवाट क्षमताको विद्युतीय मोटर र ३०.१२ किलोवाट–आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ। यसले १३० न्युटन मिटर टर्क उत्पादन गर्ने र एकपटकको पूर्ण चार्जमा २२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।
प्रिमियम भेरियन्टमा भने ८५ किलोवाटको मोटर र ४०.१६ किलोवाट–आवरको ठूलो ब्याट्री प्याक प्रयोग गरिएको छ। यसले १५० न्युटन मिटर टर्क उत्पादन गर्नुका साथै एकपटकको चार्जमा ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ।
रियर ह्वील ड्राइभ प्रणालीमा आधारित यो ह्याचब्याकको लम्बाइ ४,१३५ एमएम, चौडाइ १,८०५ एमएम, उचाइ १,५७० एमएम तथा ह्वीलबेस २,६५० एमएम रहेको छ। सानो टर्निङ रेडियस (४.९५ मिटर) का कारण सहरी सडकमा सञ्चालन गर्न सहज हुने कम्पनीको दाबी छ।
इमास ५ मा ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिफङ्सन स्टेयरिङ ह्वील तथा भेरियन्टअनुसार १०.१ इन्च वा १४.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन उपलब्ध छ। साथै हाईकार कनेक्सन, ५० वाटको वायरलेस चार्जिङ, २५६ रङको एम्बियन्ट लाइट, किलेस इन्ट्री लगायतका आधुनिक फिचर समावेश गरिएको छ।
सुरक्षाका लागि गाडीमा ६ वटा एयरब्याग, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, ३६० डिग्री क्यामेरा तथा इन्डिपेन्डेन्ट मल्टिलिङ्क सस्पेन्सन जस्ता सुविधा दिइएको कम्पनीले जनाएको छ। ब्याट्रीलाई डीसी फास्ट चार्जरमार्फत २० मिनेटमै २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने दाबी गरिएको छ।
जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले मूल्य सार्वजनिक हुनुअघि नै ७९ वटा गाडी बुकिङ भइसकेको जानकारी दिए। उनका अनुसार यसले नेपाली ग्राहकबीच नयाँ मोडलप्रति उत्साहजनक आकर्षण देखिएको संकेत गरेको छ।
कम्पनीले इमास ५ विश्व बजारमा पनि लोकप्रिय मोडल भएको दाबी गर्दै पछिल्लो १६–१७ महिनामा करिब ८ लाख युनिट बिक्री भइसकेको जनाएको छ।
जगदम्बा मोटर्सले देशभर फैलिएको आफ्नो डिलर नेटवर्कमार्फत इमास ५ को बिक्रीसँगै बिक्रीपछिको सेवा पनि उपलब्ध गराउने जनाएको छ। कम्पनीका अनुसार नेपालमा विद्युतीय सवारी साधनको बढ्दो मागलाई लक्षित गर्दै इमास ५ किफायती मूल्य, आधुनिक प्रविधि र व्यावहारिक रेन्जसहितको नयाँ विकल्पका रूपमा बजारमा ल्याइएको हो।











