रौतहटमा सामाजिक सुरक्षा भत्तामा ३२ लाख हिनामिना, वडाध्यक्षसहित ४२ जनाविरुद्ध मुद्दा

५ श्रावण २०८३, मंगलवार १३:४४

काठमाडौं । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मा वृद्धभत्ता, एकल महिला/विधवा भत्ता लगायत सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष, वडा सचिव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

अख्तियारका अनुसार अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७४/०७५ देखि २०८१/०८२ सम्म सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा कानुनअनुसार लाभग्राही हुन अयोग्य व्यक्तिलाई सरकारी अभिलेखमा लाभग्राही बनाइएको, झुट्टा विवरणका आधारमा परिचयपत्र जारी गरिएको तथा सरकारी रकम वितरण गरिएको पुष्टि भएको हो।

अनुसन्धानबाट जेष्ठ नागरिक भत्ता, एकल महिला/विधवा भत्ता तथा दोहोरो शीर्षकमा समेत भत्ता वितरण गरी ३२ लाख २४ हजार रुपैयाँ बराबरको सार्वजनिक रकम हिनामिना भएको अख्तियारको निष्कर्ष छ।

अख्तियारले बैंकिङ प्रणाली लागू हुनुअघि एउटै व्यक्तिबाट विभिन्न लाभग्राहीको नाममा औँठाछाप लगाएर भत्ता वितरण गरिएको, उमेर नपुगेका व्यक्तिलाई जेष्ठ नागरिक भत्ता र श्रीमान् जीवित रहेका महिलालाई विधवा भत्ता उपलब्ध गराइएको समेत आरोपपत्रमा उल्लेख गरेको छ। बैंकिङ प्रणाली लागू भएपछि पनि आवश्यक कागजातबिनै झुट्टा विवरणका आधारमा सामाजिक सुरक्षा परिचयपत्र जारी गरी भत्ता वितरण गरिएको अख्तियारले जनाएको छ।

यस प्रकरणमा दुर्गा भगवती गाउँपालिका–३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झा र वडा सचिव उमेश चौधरी विरुद्ध ३२ लाख २४ हजार रुपैयाँ बिगो दाबी गरिएको छ भने तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुर विरुद्ध २९ लाख ४४ हजार रुपैयाँ बिगो माग गरिएको छ।

त्यसैगरी अनियमित रूपमा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा विभिन्न लाभग्राही तथा हकवालासमेत गरी कुल ४२ जना प्रतिवादी बनाइएका छन्। उनीहरूविरुद्ध लिएको रकमअनुसार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी सहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*