बैंकमा पैसा थुप्रियो, ऋण विस्तार सुस्तः एक वर्षमा निक्षेप ९ खर्ब ६७ अर्ब बढ्दा कर्जा ३ खर्ब मात्रै, कुनको कति ?

५ श्रावण २०८३, मंगलवार १४:४०

काठमाडौँ । वर्षदिनमा वाणिज्य बैंकको निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२।०८३ को तथ्याङ्क वाणिज्य बैंकहरुको निक्षेप संकलन १४.८१ प्रतिशत (९ खर्ब ६७ अर्ब) ले बढ्दा कर्जा प्रवाह ५.८१ प्रतिशत (३ खर्ब १५ अर्ब) ले बढेको देखिएको हो ।

गत आर्थिक वर्षसम्ममा २० वाणिज्य बैंकको निक्षेप ७४ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९ खर्ब ६७ अर्ब रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको निक्षेप ६५ खर्ब ३० अर्ब रुपैयाँ रहेको थियो ।

यता, अघिल्लो आर्थिक वर्षमा ४९ अर्ब ७४ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकको कर्जा प्रवाह गत आर्थिक वर्षमा भने बढेर ५२ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको हो । यसअवधिमा बैंकको कर्जा प्रवाह ३ खर्ब १५ अर्ब १३ करोड रुपैयाँले बढेको छ ।

निक्षेप संकलनमा को कति तगडा ?

सर्वाधिक निक्षेप संकलन गर्नेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । कम्पनीको निक्षेप १ खर्ब २५ अर्ब रुपैयाँले बढेर ७ खर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्मको अवधिमा बैंकको निक्षेप ५ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो ।

दोस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन १ खर्ब ८७ अर्ब रुपैयाँले बढेर ६ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा भने बैंकको निक्षेप संकलन ४ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो ।

यता, नबिल बैंकको निक्षेप अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा ६९ अर्बले बढेर ६ खर्ब १ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघको तथ्याङले देखाएको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्याङ अनुसार क्रमशः नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप ५२ अर्बले बढेर ५ खर्ब २९ अर्ब, लक्ष्मी सनराइजको ५६ अर्बले बढेर ४ खर्ब २८ अर्ब, नेपाल बैंकको ८२ अर्बले बढेर ४ खर्ब १६ अर्ब, कुमारी बैंकको ३३ अर्बले बढेर ४ खर्ब १२ अर्ब, हिमालयन बैंकको ४३ अर्बले बढेर ३ खर्ब ५६ अर्ब, प्रभु बैंकको ५ अर्बले बढेर ३ खर्ब ५३ अर्ब, कृषि विकास बैंकको ५८ अर्बले बढेर ३ खर्ब ५१ अर्ब, एनआईसी एशिया बैंकको २१ अर्बले बढेर ३ खर्ब ४५ अर्ब, सिद्धार्थ बैंकको ४८ अर्बले बढेर ३ खर्ब ३१ अर्ब र एभरेष्ट बैंकको १७ अर्बले बढेर ३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको हो ।

वर्षदिनको अवधिमा एनएमबि बैंकको निक्षेप संकलन ३४ अर्बले बढेर ३ खर्ब १७ अर्ब, प्राइम बैंकको १५ अर्बले बढेर २ खर्ब ८३ अर्ब, सानिमा बैंकको २४ अर्बले बढेर २ खर्ब ४९ अर्ब, सिटिजन्स बैंकको १९ अर्बले बढेर २ खर्ब ३३ अर्ब, माछापुच्छ्रे बैंकको ३६ अर्बले बढेर २ खर्ब २२ अर्ब, नेपाल एसबिआई बैंकको १३ अर्बले बढेर २ खर्ब १२ अर्ब र स्टान्र्डड चार्टड बैंकको २२ अर्बले बढेर १ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको हो ।

कर्जा प्रवाह कस्को कति ?

गत आर्थिक वर्षको १२ महिनाको अवधिमा कर्जा प्रवाहमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको कर्जा प्रवाह ५४ अर्ब रुपैयाँले बढेर ४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको १२ महिनामा भने ४ खर्ब ३३ अर्बको कर्जा प्रवाह गरेको थियो ।

दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकको ४ खर्ब ७६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा बैंकको कर्जा प्रवाह ३६ अर्बले बढी हो ।

यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा प्रवाह ३ अर्बले बढेर ३ खर्ब ६० अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३७ अर्बले बढेर ३ खर्ब ४६ अर्ब रहेको छ ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा गत आर्थिक वर्षको असारको तुलनामा लक्ष्मी सनराइज बैंकको कर्जा प्रवाह ३० अर्बले बढेर ३ खर्ब २० अर्ब, कुमारी बैंकको १० अर्बले बढेर ३ खर्ब २ अर्ब, एनएमबि बैंकको २४ अर्बले बढेर २ खर्ब ६७ अर्ब, नेपाल बैंकको २५ अर्बले बढेर २ खर्ब ६१ अर्ब, हिमालयन बैंकको २ अर्बले बढेर २ खर्ब ५६ अर्ब, सिद्धार्थ बैंकको २२ अर्बले बढेर २ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्ममा आइपुग्दा अघिल्लोको तुलनामा प्रभु बैंकको ८ अर्ब, एनआईसी एशिया बैंकको २८ अर्ब र स्टान्र्डड चार्टड बैंकको १७ अर्बले कर्जा प्रवाह घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*