नियामक र सरकारको साथ पाउँदा पुँजी बजारमा रौनक: कारोबार समेत बढ्यो, प्रवेश गर्ने समय हो ?

५ श्रावण २०८३, मंगलवार १५:१०

काठमाडौँ । निरन्तर पाँच दिनदेखि सुधारको लयमा रहेको नेपाली शेयर बजारले मंगलबार पनि सकारात्मक गति कायम राख्दै लगानीकर्तामा नयाँ आशा जगाएको छ । नियामक निकाय र सरकारको बलियो साथ पाउँदा शेयर बजारमा उत्साहको वातावरण बन्दै गएको हो ।

कारोबार रकममा समेत उल्लेख्य वृद्धि भइरहेको छ भने नयाँ लगानीकर्ता बजारमा सक्रिय देखिन थालेका छन् । बजारमा प्रवेश गर्ने लगानीकर्ता बढ्दै गएको देखिएको हो । बालेन्द्र शाहले पूँजी बजारलाई मुख्य प्राथमिकता दिदै आइरहेका छन् । उनले सम्बन्धीत निकायसँग भेटवार्ता गरेर बजार सम्बन्धी सकारात्मक सन्देश दिदै आइरहेका हुन् । सोमबार लगानीकर्तासँगको भेटमा बालेनले पूँजी बजारलाई केवल शेयर खरिद–बिक्रीको माध्यमका रूपमा सीमित नराखी उत्पादन, उद्यमशीलता, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार गर्ने राष्ट्रिय संयन्त्रका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । उनले लगानीकर्ताको विश्वास बढाउन नीतिगत स्थिरता, पारदर्शिता र दीर्घकालीन सुधार अपरिहार्य रहेको उल्लेख गर्दै आवश्यक समन्वय र सहकार्यमा सरकार प्रतिबद्ध रहने विश्वास व्यक्त गरेका थिए ।

यसअघि गत बिहीबार बालेन शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच भएको भेटवार्ताले पनि बजारमा सकारात्मक प्रभाव पारेको मानिएको छ । उक्त भेटमा मौद्रिक नीतिलाई थप लचिलो बनाउने, बैंकिङ प्रणालीमा ब्याजदर तथा कर्जा प्रवाहलाई उद्यममैत्री बनाउने, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने तथा शेयर बजारप्रति लगानीकर्ताको मनोबल अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो। आर्थिक नीतिमा स्थायित्व र समन्वय बढ्ने संकेत प्राप्त भएपछि लगानीकर्ताले त्यसलाई बजारका लागि अनुकूल वातावरण बन्ने अपेक्षासँग जोडेर हेरेका छन् ।

बजारमा देखिएको सुधारको अर्को आधार नेपाल धितोपत्र बोर्डको पछिल्लो सक्रियता पनि बनेको छ। बजारमा लगातार गिरावट आएपछि आन्दोलनमा उत्रिएका लगानीकर्तासँग विस्तृत छलफल गरेको बोर्डले सुधारका लागि स्पष्ट रोडम्याप सार्वजनिक गरेको थियो। अध्यक्ष डा. गोपालप्रसाद भट्टले नियामकीय सुधार, बजार विस्तार, लगानीकर्ता संरक्षण, पारदर्शिता अभिवृद्धि तथा नयाँ वित्तीय उपकरणको विकासलाई प्राथमिकतामा राख्दै चरणबद्ध सुधार अघि बढाइने प्रतिबद्धता जनाएका थिए। यसले बजारप्रति नियामक निकायको सक्रियता बढेको सन्देश दिएको भन्दै लगानीकर्ताले सकारात्मक रूपमा लिएका छन् ।

पछिल्ला दिनमा सरकार, नियामक निकाय र मौद्रिक नीतिका जिम्मेवार पक्षबाट आएका सकारात्मक अभिव्यक्तिहरूले लगानीकर्ताको मनोविज्ञान परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । नीतिगत सुधार, पारदर्शिता, पूँजी परिचालन र लगानीमैत्री वातावरण निर्माणका प्रतिबद्धता व्यवहारमा उतार्न सकिए भने हाल देखिएको सुधारले आगामी दिनमा अझ मजबुत आधार प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२५ अकंले बढेर २७२६.४९ बिन्दुमा कायम भएको छ । आज ३४३ कम्पनीको १ करोड ४९ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड १० लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ५ उपसूचकमा सुधार देखिएको छ भने ८ उपसूचक घटेका छन् ।

मंगलबार १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*