दोलखाको सिर्पिङ खोला ड्याम क्षेत्रमा पहिरोः एक वृद्ध बेपत्ता, चार कर्मचारीको सकुशल उद्धार

६ श्रावण २०८३, बुधबार ११:११

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी एक वृद्ध सम्पर्कविहीन भएका छन् भने चार जना कर्मचारीको सकुशल उद्धार गरिएको छ।

बुधबार बिहान करिब १ बजे गएको पहिरोले ड्याम नजिक कर्मचारी बस्ने घर पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ। असुरक्षित स्थानमा रहेका ड्यामका चार जना कर्मचारीलाई बिहान ७ः१५ बजे सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

पहिरोले ड्याम क्षेत्रमै गोठ बनाएर बस्दै आएका गौरीशंकर गाउँपालिका–९ टासिनामका करिब ७३ वर्षीय चस्मान (तसमान) तामाङको गोठ पनि बगाएको छ। घटनापछि उनी हालसम्म सम्पर्कविहीन रहेका छन्।

पहिरोसँगै गोठमा रहेका सात वटा बाख्रा, नौ वटा गाई र तीन वटा गोरु समेत बगेका छन्। सम्पर्कविहीन तामाङको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी घटनास्थलमा परिचालित रहेको छ। स्थानीयवासी र अन्य सुरक्षा निकायको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*