औषधि वितरण सहज बनाउन आवश्यक सवारी तत्काल व्यवस्था गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको उत्पादन क्षमता, वर्तमान अवस्था तथा देखिएका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
बबरमहलस्थित नेपाल औषधि लिमिटेडको कार्यालयमा पुगेकी मन्त्री यादवसँग मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलगायत उच्च अधिकारी पनि सहभागी थिए। अनुगमनका क्रममा लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले अत्यावश्यक औषधि उत्पादन भइरहेका विभिन्न उत्पादन कक्षको अवलोकन गराउँदै संस्थाको प्रगति र चुनौतीबारे जानकारी दिएका थिए।
महाप्रबन्धक पनेरुले हाल लिमिटेडले २५ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको जानकारी दिँदै उत्पादित औषधि देशभर वितरण गर्न आवश्यक सवारीसाधनको अभाव रहेको बताएका थिए। उनका अनुसार जनआन्दोलनका क्रममा औषधि ढुवानीमा प्रयोग हुँदै आएको सवारीसाधन जलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा वितरण प्रभावित हुँदै आएको छ।
सो गुनासो सुनेपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाडीलाई आवश्यक सवारीसाधनको तत्काल व्यवस्था मिलाउन निर्देशन दिएकी छन्।
अनुगमनका क्रममा महाप्रबन्धक पनेरुले वर्षौंदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेड चालु आर्थिक वर्षमा करिब दुई करोड रुपैयाँ नाफामा पुग्ने अवस्थामा पुगेको जानकारी पनि गराएका थिए।











